एमालेमा आज मतदान हुँदै (चितवन–नवलपुरबाट को–को परे) 

२०७८ मङ्सिर १३ सोमबार ०८:१९:०० मा प्रकाशित


चितवन । शौराहामा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु हुँदैछ । अहिले ८ बजेदेखि बिहान साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पछिल्लो कार्यतालिकाअनुसार आज बेलुकी ९ बजेपछि मात्रै मतदान सुरु हुनेछ ।
अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो । तर रावलले प्रस्ताव अस्वीकार गर्नुभएको छ । रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव गर्ने तयारी भएको हो ।
निर्वाचन प्रक्रिया हिजै सुरु हुने कार्यतालिका भए पनि यसमा हेरफेर गरिएको छ । ओलीले सहमतिको प्रस्ताव भन्दै  ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम पेस गर्नुभएको छ ।
गएरातिको बन्द सत्रमा नाम पेस गर्दै उहाँले यो सूचीमा आपत्ति हुनेका लागि चुनाव लड्ने बाटो खुल्ला राखेको जानकारी दिनुभयो । ओलीले यो सूचीमा नपर्नेहरूलाई मनोनयनबाट ल्याउने आश्वासन पनि दिनुभएको छ । यस्तै ओलीले सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गर्नुभएको छ ।
यस्तै ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम प्रस्ताव गरिएको छ । त्यस्तै ३ जना उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाललाई प्रस्ताव गरिएको छ ।
सात जना सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्ताव भएको छ । नेताहरु भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरूको विरोधकाबीच ओलीले राति भएको बन्द सत्रमा यो प्रस्ताव ल्याउनुभएको हो । तर प्रस्तावित नाम अनुमोदन भने भइसकेको छैन ।
ओलीले पेश गरेको सूचीमा गण्डकी प्रदेश भूगोलबाट मायानाथ अधिकारी, तिलक महत, जगत विश्वकर्मा, भूपेन्द्र थापा, इन्द्रलाल सापकोटा र टुकराज सिग्देल महिलातर्फ नरदेवी पुन, सीमा क्षेत्री, मीनाकुमारी गुरुङ रहेका छन् । नवलपुर जिल्लाका तिलक महत, कृष्ण पौडेल रविन्द्र अधिकारी र नवलपरासीबाट किरण पौडेल केन्द्रीय सदस्य र पदमा जी.सि. श्रेष्ठ केन्द्रीय लेखा आयोगको सदस्यमा सिफारिस गर्नुभएको छ ।
नवलपुरबाट नेकपा एमालेको केन्द्रीय सदस्यमा सहमतीमा परेका नामहरु
खुल्ला

१. कृष्ण पौडेल
२. रविन्द्र अधिकारी
गण्डकी प्रदेश भुगोलबाट
१. तिलक महत

चितवनबाट नेकपा एमालेको केन्द्रीय सदस्यमा सहमतीमा परेका नामहरु
खुल्ला

१. रामबहादुर थापा
२. सुरेन्द्र पाण्डे
३. कपिल शर्मा
४. सीता पौडेल
५. काशिनाथ अधिकारी
६. देवी ज्ञवाली
७. जेएन थपलिया
खुल्ला महिला
१. प्रभा बराल
दलित महिला
१. शिवकुमारी गोतमे
बागमती प्रदेश (महिला)
१. पार्वती रावल 
गएको शुक्रवार चितवनमा सुरु भएको एमालेको दशौंँ राष्ट्रिय महाधिवेशन हिजै सकिने कार्यतालिका भए पनि सहमतिको प्रयास हुँदा लम्बिएको हो ।