आज भव्य समारोहबीच नारायणी नदी किनारमा एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदै
 
     
चितवन ।  प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। नारायणी नदी किनारमा एक समारोहबीच पार्टीको महाधिवेशन उद्घाटन हुँदैछ।
नेकपा एमालेले आज मध्यान्ह १२ बजे भव्य समारोहबीच महाधिवेशनको उद्घाटन गर्दैछ। एमाले अध्यक्ष केपीशर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। एमालेले नारायणी नदी किनारमा महाधिवेशन उद्घाटनका लागि भव्य मञ्च निर्माण गरेको छ। मञ्च निकै आकर्षक रुपमा निर्माण गरिएको छ।
मञ्च आसपास क्षेत्रमा ठूल ठूला एलसीडी राखिएका छन्। जसका कारणले सहभागीहरुले सहजै उद्घाटन सत्रको कार्यक्रम हेर्न सक्ने व्यवस्था मिलाइएको छ। ‘उद्घाटन सत्रको सबै तयारी सकिएको छ। देशका विभिन्न भागबाट आउने सहभागी पनि आइरहनुभएको छ,’ एमाले केन्द्रीय सदस्य एवं जनपरिचालन समितिका संयोजक देवी ज्ञवालीले भने, ‘रातिदेखि नै चितवनमा सहभागीहरु पुगिसकेको अवस्था छ। प्रतिनिधिहरु पनि आइरहनुभएको छ।’
राति देखि नै जिल्लाका विभिन्न स्थानबाट आएका सवारी साधनहरुलाई आयोजकले व्यवस्थापन गर्ने उनीहरुको प्रबन्ध गर्ने काम गरिरहेको छ। उद्घाटन सत्र अघि देशका विभिन्न स्थानबाट सहभागी भएका कार्यकर्तासहित विशाल र्यालीको तयारी गरिएको छ। ‘९ बजेभित्र सबै साथीहरु जिल्ला प्रवेश गरिसक्नुहुने छ,’ उनले भने, ‘चितवनका प्रमुख क्षेत्रबाट जुलुस अघि बढ्नेछ। पूर्वतिरबाट आएको जुलुस केन्द्रीयबस टर्मिनलबाट सहिद चोक, माडी, पटियानीलगायतको क्षेत्रको जुलस पनि त्यसै हिसाबले अघि बढनेछ।’ विभिन्न स्थानबाट जुलुस प्रदर्शन हुने उनले बताए। सबै तिरको जुलुस कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम रहेको छ।पार्टी अध्यक्ष केपी शर्मा ओली भने र्यालीमा सहभागी हुने छैनन्। उनी सोझै कार्यक्रम उद्घाटन स्थलमा आइपुग्ने कार्यक्रम रहेको ज्ञवालीले जानकारी दिए।
 
															 
                             
                             
                             
                             
                            
                            
                            
                             
											2025-10-31-06-02-26.jpeg) 
											 
											 
											 
											 
											 
											 
                            