नेपाली काँग्रेस जिल्ला कार्यसमितिको अधिवेशन अन्यौलमा, सभापतिमा कसको चर्चा ?

२०७८ मङ्सिर ९ बिहीबार १९:२८:०० मा प्रकाशित


गँैडाकोट । नेपाली काँग्रेसको चौधौँ महाधिवेशनको कार्यतालिका शुक्रबार नेपाली काँग्रेस नवलपुर जिल्ला कार्यसमितिको अधिवेशन हुने भनिएपनि क्षेत्र नं. २ को विवाद कारण अन्यौलमा रहेको छ  । विवाद अन्त्यका लागि दुबै पक्षका नेताहरुबीच छलफल जारी रहेको हुँदा जिल्ला अधिवेशन तोकिएकै समयमा हुने वा नहुने भन्ने सन्दर्भमा एकीन गर्न नसकिएको जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलले विजय एफएमलाई जानकारी दिनुभयो । क्षेत्र नं. २ को सभापति पदमा दुबै उम्मेदवारको मत बराबर आएपछि विवाद चुलिदै गएको थियो । दुबै पक्षका नेताहरुको आपसी सहमति पश्चात मात्र जिल्ला अधिवेशन गर्न सकिने निर्वाचन अधिकृत सिग्देलको भनाइ छ । पूर्ववत कार्यतालिका अनुसार कांग्रेस जिल्ला कार्य समिति पदका लागि अधिवेशन कुमारवर्ती बहुमुखी क्याम्पस कावासोतीमा तोकिएको थियो । यस अघि भोली मनोनयन र ११ गते निर्वाचनको कार्यतालिका तय गरिएको थियो । जिल्ला निर्वाचनका लागि सबै तयारी पूर्ण रहेको सहायक निर्वाचन अधिकृत चुडामणी शर्माले बताउनुभयो । 


चितवनमा नेकपा एमालेको महाधिवेशनका कारण प्रयाप्त सुरक्षा व्यवस्था, अन्य विविध कारणले नेपाली काँग्रेस चितवनको जिल्ला अधिवेशन भने मंसिर १६ गतेपछि गरिने भएको छ । 
नेपाली काँग्रेस नवलपुरको जिल्ला सभापतिमा को उठ्ला भन्ने चर्चा जिल्लामा बढेको छ । प्रदेश तथा क्षेत्रको अधिवेशन पश्चात राजनीतिक सरगर्मी र चर्चा बढीरहेको छ । जिल्ला सभापतिमा बरिष्ठ नेता रामचन्द्र पौडेल निकट महेन्द्रध्वज जिशि समूह र काँग्रेस महामन्त्री डा. शंशाक कोइराला समूहबीच नै प्यानलगत प्रतिष्पर्धा हुने देखिएको छ । पालिका कार्यसमितिहर, प्रदेश सभा कार्यसमितिहरु र क्षेत्रीय कार्यसमितिहरुमा यस अघि दुबै पक्षका नेताहरु आपसी प्रतिष्पर्धामा देखिएका थिए । कोइराला पक्षका एक नेताका अनुसार कोइराला प्यानलबाट जिल्ला सभापतिमा मदनभक्त अधिकारी र गजेन्द्रबहादुर आलेको नाम माथि छलफल भइरहेको छ भने यता पौडेल पक्षको प्यानलबाट महेन्द्रध्वज जिशि र अन्य विकल्पमा पनि छलफल भइरहेको छ । जिल्ला समितिको सचिवमा होमराज रानाभाट, करुणासागर सुवेदी, सहसचिवमा राजेश पौडेल, प्रकाश सापकोटा लगायतका युवा नेताहरुले आंकाक्षा राख्दै चुनावी प्रचारमा होमिएका छन् ।