गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० जि.पि.ए.
अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, गैँडाकोटका तीन विद्यार्थीले सबै सेमेस्टरमा पूर्ण ४.० जिपिए हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका छन्।

कलेजका अनुसार प्रजोन अधिकारी, फरहान आलम र अनु बरतौलाले आफ्नो सम्पूर्ण सेमेस्टरमा लगातार ४.० जिपिए प्राप्त गरेका हुन्। पोखरा विश्वविद्यालयअन्तर्गत बि.सि.ए. कार्यक्रमको इतिहासमा तीन जना विद्यार्थीले सबै सेमेस्टरमा पूर्ण ४.० हासिल गरेको यो ऐतिहासिक उपलब्धि भएको कलेजले जनाएको छ।
विद्यार्थीहरूको उल्लेखनीय सफलताको सम्मानमा विशेष बधाई तथा सम्मान कार्यक्रम एवं अन्तरक्रिया आयोजना गरेको थियो।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. इ. हरि प्रसाद भण्डारी, भाइस प्रिन्सिपल कृष्णहरि पौडेल, प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रिन्सिपल भण्डारीले विद्यार्थीहरूको निरन्तर मेहनत, अनुशासन र लक्ष्यप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै सफलताका लागि परिवार, शिक्षक र कलेजको शैक्षिक वातावरणको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।सम्मानित विद्यार्थीहरूले आफ्नो अध्ययन अनुभव, नियमित अध्ययन अभ्यास र सफलताका लागि अपनाएका विधिबारे अनुभव साझा गरेका थिए। साथै आगामी शैक्षिक तथा व्यावसायिक यात्राका योजनाबारे समेत आफ्ना धारणा राखेका थिए।कार्यक्रममा विद्यार्थीहरूको अध्ययन संस्कार, निरन्तर उत्कृष्टता कायम राख्ने उपाय तथा आगामी यात्राबारे अन्तरक्रिया र प्रश्नोत्तरसमेत गरिएको थियो। सो अवसरमा तीनै जना विद्यार्थीलाई कलेजका तर्फबाट सम्मान गरिएको थियो।लगातार उत्कृष्ट नतिजा हासिल गरेका प्रजोन अधिकारी, फरहान आलम र अनु बरतौलाको सफलतालाई अक्सफाेर्ड ले विद्यार्थी प्रतिभा, मेहनत र निरन्तर अध्ययनप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा लिएको छ। कलेजले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा पहिचान, प्रोत्साहन र शैक्षिक उत्कृष्टताका लागि अनुकूल वातावरण निर्माण गर्दै जाने जनाएको छ।
