सगरमाथा वृक्षारोपण महाअभियान तथा राष्ट्रिय बृक्षारोपण दिवस २०८३ का अवसरमा गैडाकोटमा वृक्षारोपण

२०८३ असार १४ आइतबार १६:४८:०० मा प्रकाशित

 गैँडाकोट । सगरमाथा वृक्षारोपण महाअभियान तथा राष्ट्रिय बृक्षारोपण दिवस २०८३ का अवसरमा  गैँडाकोटमा वृक्षारोपण गरिएको छ। डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)को आयोजना र नारायणी सामुदायिक वनको समन्वयमा आइतबार नारायणी सामुदायिक वन समूहको क्षेत्रमा वृक्षारोपण गरिएको हो।  वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका गरी करिब २०० वटा बिरुवा रोपिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्तापूर्व)का संयोजक बाबुराम विश्वकर्माले नेपालको प्राकृतिक सम्पदा हेर्दा हामी भाग्यमानी हौँ। यसलाई जोगाएर राख्नु हाम्रो दायित्व भएको बताउनुभयो। उहाँले प्रकृतिलाई जोगाउन  वृक्षारोपण गरेर हराभरा बनाउनु पर्छ भनेर नै वृक्षारोपण गरिएको बताउनुभयो।

गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले वृक्षारोपण गरेर त्यसलाई जोगाउनु पनि हाम्रो मुख्य दायित्व भएको बताउनुभयो। नगरप्रमुख अधिकारीले वनजंगल हराभरा भयो भने फाइदा हामीलाई नै हो त्यसैले खाली ठाउँमा वृक्षारोपण गर्नुपर्ने बताउनुभयो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले वनजंगल संरक्षण गरेर नेपालले कार्बन व्यापारबाट वर्षेनी थुप्रै रकम आम्दामी गरेको बताउनुभयो । उहाँले  वृक्षारोपण गरेर मात्र नहुने हुदा संरक्षणको लागी डिभिजन वनले अनुगमन गर्ने र सामुदायीक बनले संरक्षण गर्नु पर्ने बताउनुभयो।

डिभिजन वन कार्यालय नवलपरासी(वर्दघाट सुस्ता पूर्व)का प्रमुख विष्णुप्रसाद अधिकारीले नेपाल सरकारले सन् २०२५ देखि सन् २०४५ सम्म को २० वर्षको अवधिलाई सगरमाथा बृक्षारोपण महाअभियान घोषणा गरेको बताउनुभयो ।   प्रमुख अधिकारीले हरेक वर्ष असार १४ देखि श्रावण १५ सम्मको अवधिलाई वृक्षारोपण गर्ने अवधि भनेर वृक्षारोपण सुरु गरिएको बताउनुभयो। प्रमुख अधिकारीले २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्य बनाउने भनेर सरकारले घोषणा गरेको छ त्यही कार्यक्रम अन्तर्गत यो वर्षको औपचारिक रुपमा वृक्षारोपणको सुरुवात भएको पनि बताउनुभयो। प्रमुख अधिकारीले वृक्षारोपण मात्र नभई यसलाई संरक्षण गर्ने, सम्बर्धन गर्ने र केही समयपछि लाभ लिने अवस्थामा पुग्ने हिसाबले वृक्षारोपण भएको पनि बताउनुभयो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासका केन्दीय सदस्य कमल पराजुली ,नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रराज सापकोटा, मौलाकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिप्रसाद सापकोटाले शुभकामना मन्तव्य दिँदै वनजंगल हराभरा बनाउने र वनको संरक्षण गर्ने हामी सबैको दायित्व भएको  बताउनुभयो । 

सब डिभिजन वन कार्यालय  गैँडाकोटका प्रमुख सन्तोष मिश्रले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण नारायणी सामुदायिक वनको सचिव सीता गिरीले गर्नुभएको थियो।