गैंडाकोट-६ मा पशुपालक कृषकलाई पाइप वितरण
गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नं. ६ ले आर्थिक वर्ष २०८२÷०८३ अन्तर्गत कृषि कार्यक्रममार्फत पशुपालक कृषकहरूलाई गोठ व्यवस्थापनका लागि पाइप वितरण गरेको छ । वडाले कृषि क्षेत्रमा विनियोजित ३ लाख रुपैयाँ बजेटबाट वडाभित्रका करिब २ सय ३० घरधुरी पशुपालक कृषकलाई पाइप वितरण गरेको हो । गाईभैंसी पालन गर्दै आएका कृषकहरूको गोठ व्यवस्थापनलाई थप व्यवस्थित, सरसफाइयुक्त र गाईभैसींलाई सरसफाई राख्नका लागी उक्त सामग्री प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष सुवास चापागाईंका अनुसार पशुपालन व्यवसायलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले पाइप वितरण गरिएको हो। उहाँले गत आर्थिक वर्षमा पनि कृषकहरूलाई गोबर व्यवस्थापन तथा सरसफाइका लागि बुट र फलामका औजार वितरण गरिएको स्मरण गराउँदै यस वर्ष गोठ व्यवस्थापनमा उपयोगी हुने पाइप उपलब्ध गराइएको बताउनुभयो । अध्यक्ष चापागाईंले कृषकको आवश्यकता र मागलाई मध्यनजर गर्दै आगामी वर्षहरूमा पनि यस्ता कृषि तथा पशुपालन प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
वडाले सञ्चालन गरेका यस्ता कार्यक्रमले पशुपालन व्यवसायलाई आधुनिक, व्यवस्थित र उत्पादनमुखी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।