जलुकेमा पूर्ण सरसफाई अभिमुखीकरण सुरु
नवलपरासी पूर्व । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैँडाकोटले शुक्रबार र शनिबार खानेपानी तथा पूर्ण सरसफाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । तालिममा गैँडाकोट १ र २ का टोल विकास संस्था र महिला समूहका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
गैँडाकोट नगरपालिका वाड नं. १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले यस कार्यक्रम पश्चात् वडामा सरसफाई र सुरक्षित खानेपानी प्रयोगमा सचेतना बढ्ने बताउनुभयो । जलुके खानेपानीका अध्यक्ष जगन्नाथ पौडेलले खानेपानीको वितरण क्षेत्रभित्र खानेपानीको प्रयोग र सरसफाइलाई व्यवहारिक अभ्यासमा लैजान तालिममा उपस्थित सहभागिले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
दुइदिन सम्म चल्ने तालिममा खानेपानी सव डिभिजन कार्यालय कावासोतीका इन्जिनियर सञ्जय कोइराला, सरसफाईका क्षेत्रमा विशेष अनुभव हासिल गरिसक्नुभएका प्रशिक्षक मिना श्रेष्ठ र ओभरसियर अमृत बरालले प्रशिक्षणका लागि सहजीकरण गर्नुहुने खानेपानी संस्थाका सदस्य शिव लम्सालले बताउनुभएको छ ।
कार्यक्रमको सहजीकरण कार्यसमिति सदस्य शिव भूषालले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष भगवान लम्सालले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमले समुदायमा सचेतना बढाउने कार्यक्रम संयोजक मेघनाथ पौडेलले जानकारी दिनुभयो ।