यात्रारत बसभित्र एक पुरुष मृत भेटिए

२०७८ असोज २७ बुधबार १५:४७:०० मा प्रकाशित


गैँडाकोट । नवलपुरमा एक व्यक्ति बस भित्रै मृत अवस्थामा फेला परेका छन् ।

हिजो साँझ ६ बजे नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको भे १ ख ३१४७ नम्बरको डिलक्स बसमा सवार व्यक्ति नवलपुरको अरुणखोलामा आईपुग्दा बसभित्रै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृतक सुनसरी जिल्लाको ईटहरी बस्ने अन्दाजि ५० वर्षिय सुरज कार्की रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी निरिक्षक मधुसुदन सिंहले जानकारी दिनुभयो ।

मृतक कार्की भारतमा रोजगारीको लागि गई घर फर्किदैँ गरेको जानकारी प्राप्त भएको प्रहरीले बताईएको छ । नेपालगञ्जबाट छुटेको बस नवलपुरको विनयीत्रिवेणी गाउँपालिका १, होङ्सी गेट नजिकै ट्वाईलेटको लागि रोकिएको र ट्वाईलेट गई फर्कने क्रममा अचानक लडेपछि कार्कीलाई बसमा राखि ल्याउँदै गर्दा मृत्यु भएको जनाईएको छ । शवलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

बस र बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी निरिक्षक मधुसुदन सिंहले जानकारी दिनुभयो ।