इन्धनको मूल्यवृद्धिसँगै अन्तर-प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

२०८३ बैशाख १६ बुधबार १७:१३:०० मा प्रकाशित

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको छ । विभागले २०८३ वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो । यो समायोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति र विभागको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार गरिएको विभागले जनाएको छ ।

 

भाडा वृद्धिको मुख्य कारण डिजेलको बजार मूल्यमा भएको भारी बढोत्तरीलाई मानिएको छ । विभागको स्वचालित प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढीले घटबढ भएमा भाडा समायोजन गर्ने प्रावधान छ । पछिल्लो पटक भाडा समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर १८०.८३ रुपैयाँ रहेकोमा हाल यो ३०.४१ प्रतिशतले बढेर २३५.८३ रुपैयाँ पुगेकाले नयाँ भाडादर कायम गर्नुपरेको विभागको भनाइ छ । नयाँ तोकिएको दर अनुसार यात्रुवाहक सवारी साधनको भाडा ५.३ प्रतिशतले बढाइएको छ । त्यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ७.७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ९.१ प्रतिशतले वृद्धि गरिएको छ ।

 

यो वृद्धिले विशेषगरी लामो दूरीको यात्रा र सामान ढुवानीको लागतमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । यो निर्णय दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय स्तरका रुटहरूमा मात्र लागू हुने विभागले स्पष्ट पारेको छ । तर, वातावरणमैत्री विद्युतीय सवारी साधनको हकमा भने पुरानै भाडादर कायम रहने र यसमा कुनै वृद्धि नगरिएको सूचनामा उल्लेख छ ।

विभागले नयाँ भाडादरको विस्तृत सूची समेत सार्वजनिक गर्दै सबै सरोकारवालालाई यसै बमोजिम कार्यान्वयन गर्न सूचित गरेको छ । न्यूज बैंक