भरतपुर–७ मा बन्ने भयो नेपाल आविष्कार केन्द्र

२०८३ बैशाख १३ आइतबार १४:१०:०० मा प्रकाशित

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–७ मा नेपाल आविष्कार केन्द्र स्थापना हुने भएको छ । यससँग जोडिएका २२ जना संस्थापक सदस्यहरुले नेपाल आविष्कार केन्द्र स्थापना गर्ने अठोट गरेका छन् । यसका परिकल्पनाकार पूर्वमन्त्री विजय सुवेदी हुन् ।

‘दुई महिनाअघि केही इन्जिनियर साथीहरुसँग छलफल गर्नेक्रममा आविष्कार केन्द्र स्थापनाको परिकल्पना भयो’, शनिबार आविष्कार केन्द्रको अवधारणामाथि भएको छलफलमा सुवेदीले भने, ‘अन्य विभिन्न क्षेत्रका बुद्धिजीवीसँग छलफल गर्दागर्दै अहिले २२ जना पुगेका छौँ ।’ आविष्कार केन्द्रका लागि भरतपुर–७ मा २२ कठ्ठा जग्गा लिजमा लिइएको छ ।

परिकल्पनाकार सुवेदीका अनुसार आविष्कार केन्द्रमा ५१ जना संस्थापक सदस्य बनाइने छ । ‘यही वैशाख महिनाभित्र कम्पनी ऐनअन्तर्गत दर्ता गरिन्छ, आविष्कार केन्द्र नाफामूलक हुँदैन । यसको आम्दानी यसको वृद्धिविकासमा लगाइन्छ’, सुवेदीले भने । ‘अहिले प्रत्यक्षरुपमा २२ जना जोडिए पनि धेरै युवाहरुले रूचि देखाइरहेका छन्, विभिन्न क्षेत्रका विज्ञ मानिसलाई आबद्ध गराउने सोचाइ बनाएका छौँ’, उनले भने, ‘यो कुनै रंग र पार्टीको हुँदैन, कुनै जाति र निजी हुँदैन, सबैको साझा रहन्छ ।’

अवधारणामाथि भएको छलफलमा इन्जिनियर विशाल सिग्देलले केन्द्रको गुरूयोजना बताएका थिए । ‘नेपाली जनजीवनका मौलिक समस्याहरुको समाधान गर्ने नवप्रवर्तन र आविष्कारको केन्द्र बनाउने छौँ’, सिग्देलले भने, ‘प्रविधि र अनुसन्धानलाई प्राथमिकता दिइने छ, अपाङ्गता, ज्येष्ठ नागरिकहरुको जीवनलाई सहज बनाइने छ, देशकै रिसर्च सेन्टरको रुपमा विकास गरिने छ ।