कावासोतीमा झोल सर्फ र फिनाइल बनाउने तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बन्न उपप्रमुखको आग्रह

२०८३ बैशाख ११ शुक्रबार १९:०१:०० मा प्रकाशित

​कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं. १४ मा रहेको सहिद स्मृति सामुदायिक सिकाई केन्द्रको आयोजना र नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ५ दिने झोल सर्फ, हर्फिक र फिनाइल बनाउने तालिम शुक्रबार एक समारोहकाबीच सम्पन्न भएको छ ।

 

गत बैशाख ७ गतेदेखि सुरु भएको उक्त तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै कावासोती नगरपालिकाकी उप-प्रमुख फूलकुमारी थनेतले महिलाहरू घरको चौघेरामा मात्र सीमित नभई आर्थिक रूपमा पनि सबल र आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो। उहाँले तालिममा सिकेको सीपलाई केवल प्रमाणपत्रमा सीमित नराखी व्यावसायिक उत्पादनमा लाग्न सहभागीहरूलाई आग्रह गर्दै नगरपालिकाले बजार व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।

 

​तालिमको चौथो दिनमा कावासोती नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत राजन पाण्डेले कार्यक्रमको विशेष अनुगमन गर्नुभएको थियो। सो क्रममा उहाँले सहभागीहरूसँग अन्तरक्रिया गर्दै सिकाई केन्द्रले सञ्चालन गरेका यस्ता सीपमूलक कार्यक्रमले समुदायको शैक्षिक र आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।

 

समापन कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै कावासोती नगरपालिका वडा नं. १६ का वडा अध्यक्ष आनन्द श्रेष्ठले स्थानीय स्तरमा स्वरोजगारका अवसरहरू सिर्जना गर्न यस्ता तालिम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा वक्ताका रूपमा कावासोती-१४ का वडा सदस्य दानबहादुर महतो र महिला सदस्य सीता वि.क.ले पनि तालिमको प्रभावकारिताका बारेमा आफ्ना भनाइहरू राख्नुभएको थियो ।

 

​केन्द्रका प्रमुख संरक्षक दुर्गादत्त भण्डारीले स्थानीय स्रोत र साधनको प्रयोग गरी आत्मनिर्भर बन्न सकिने यस्ता कार्यक्रमहरू केन्द्रले निरन्तर आयोजना गर्ने बताउनुभयो। कावासोती नगरपालिकाका वडा नं. १४, १५, १६ र १७ का गरी जम्मा ५९ जना प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रममा मुख्य प्रशिक्षक पुष्पा देवी गुरौले सहभागीहरूको कुशलताको प्रशंसा गर्नुभयो । तालिममा सहभागी नन्दकला सिग्देलले अब आफूहरू सामूहिक रूपमा व्यावसायिक उत्पादनमा लाग्ने योजना सुनाउनुभयो।

 

कार्यक्रमको सञ्चालन एवं संयोजक सुस्मिता पौडेलले गर्नुभएको उक्त समापन समारोहमा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने ५९ जना सहभागीलाई प्रमाणपत्रका साथै उनीहरूले नै तालिममा तयार पारेको झोल सर्फ, फिनाइल र हर्पिक समेत वितरण गरिएको थियो ।