क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै

२०८३ बैशाख ११ शुक्रबार १७:१०:०० मा प्रकाशित

रौतहट । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । बाराको बम नहर रोडअन्तर्गत थलही पुलमा शुक्रबार उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनालगत्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव घटनास्थल पुगेर घाइते अन्सारीको उद्धारमा सहयोग गरेका थिए ।


एम्बुलेन्स चालक संघ बाराका अध्यक्ष शेख सर्फुदिनका अनुसार अन्सारीलाई तत्कालै उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पुर्याइएको थियो । अस्पताल भर्ना गरिएका अन्सारीको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ । चिकित्सकहरूले उनको स्वास्थ्यको थप परीक्षण गरिरहेका छन् ।

 

दुर्घटना भएको बम नहर रोडका पुलहरू अत्यन्तै जीर्ण र असुरक्षित रहेको स्थानीयले गुनासो गरेका छन् । पुलहरू खुल्ला र मर्मत नहुँदा बारम्बार दुर्घटना हुने गरे पनि सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीयले बताएका छन्।  न्यूज बैंक