गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
काठमाण्डौँ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा बुधबार राजीनामा दिएको घोषणा गरेका हुन् ।
चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका मन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिएका हुन् । मन्त्री गुरुङले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठुलो भएको उल्लेख गरेका छन् । ’आज देशमा सुशासन र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ भन्ने सन्देश दिएको छ,’ उनले भनेका छन्, ’मेरा ४६ जना भाइ-बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको यो सरकारमाथि कसैले प्रश्न उठाउँछ भने त्यसको जवाफ नैतिकता नै हुनुपर्छ ।’
उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ’स्वार्थको द्वन्द्व’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन् । उनले आम नेपाली र युवाहरूलाई सम्बोधन गर्दै साँच्चै परिवर्तन चाहने हो भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्ने अपिल गरेका छन्।