गैंडाकोट ६ को नवनिर्मित वडा कार्यालयको समुद्घाटन

२०८३ बैशाख ७ सोमबार १८:३७:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट वडा नम्बर ६ को नवनिर्मित वडा कार्यालयको समुद्घाटन गरिएको  छ । गैंडाकोट ६ स्थित भाग्योदय चोकमा अवस्थित वडा कार्यालयको सोमबार एक कार्यक्रमकाबिच गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले समुद्घाटन गर्नुभएको हो ।

 

नगरप्रमुख अधिकारीले वडा कार्यालय बनाउनको लागि वडा अध्यक्ष सुभाष चापागाईंको ठूलो हात रहेको भन्दै वडाध्यक्षको प्रशंसा गर्नुभयो ।  वडा कार्यालय स्थापना गरेर वडावासीलाई सेवा सुविधा दिन लागेकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो । नगर प्रमुख अधिकारीले नगरले अब नगरका विभिन्न ठाउँमा पनि वडा कार्यालय स्थापना गर्नुपर्ने भएपनि वडा कार्यालयका लागि जग्गा अभाव रहेको बताउनुभयो । उहाँले वडा कार्यालयको नाममा जग्गा हुनुपर्ने भएको कारणले गर्दा पनि जग्गा किनेर बनाउनु आवश्यक रहेको बताउनुभयो ।


गैंडाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुभाष चापागाईंले वडाबासीहरूलाई वडा कार्यालयको भवनबाट सेवा दिन पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो । उहाँले भवन बनाउन निकै उतारचढावका साथ अवरात्र खटेर सम्पन्न गरेको स्मरण गर्नुभयो ।

वडाध्यक्ष चापागाईंले वडामा सेवा प्रवाहलाई सहज बनाउन नागरिकतादेखि लालपुर्जासम्मका कागजात बारम्बार बोकेर आउनुपर्ने बाध्यता अन्त्य गर्ने तयारी भइरहेको बताउनुभयो। उहाँका अनुसार वडामा एकपटक आवश्यक कागजात पेश गरेपछि प्राविधिक रूपमा अभिलेखीकरण गरी आगामी दिनमा पुनः सोही कागजात बोकेर आउन नपर्ने व्यवस्था मिलाउने काम अघि बढाइएको छ।

 

उहाँले वडाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार घर नम्बरिङ कार्य सम्पन्न गरिसकेको जानकारी दिँदै छिट्टै घरघरमै पुगेर नम्बर वितरण गरिने बताउनुभयो । वडावासीहरूको व्यवस्थित बसोबास तथा वैज्ञानिक व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्न पनि उहाँले आग्रह गर्नुभयो।

 

वडा कार्यालयलाई सेवामात्र दिने ठाउँ नभई सिकाइको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै चापागाईंले वडामा आउने प्रत्येक नागरिकले केही नयाँ कुरा सिकेर फर्किने वातावरण निर्माण गर्ने आफ्नो चाहना व्यक्त गर्नुभयो। त्यस्तै, भदौ २३-२४ गते भएको आन्दोलनका क्रममा वडा कार्यालयको संरक्षणमा स्थानीयवासीको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले आभार व्यक्त गर्नुभयो। एक सातासम्म खटिएर कार्यालय जोगाउन सहयोग गर्ने वडावासी तथा छिमेकीप्रति उहाँले सम्मान व्यक्त गर्नुभयो।

 

यसैबीच, वडामा सक्रिय समाजसेवी व्यक्तित्वहरूलाई सम्मान गरिएको जानकारी दिँदै आगामी दिनमा पनि योगदान पुर्‍याउने अन्य व्यक्तित्वहरूलाई सम्मान गर्दै जाने योजना रहेको वडाध्यक्ष चापागाईंले बताउनुभयो । नवनिर्मित वडा कार्यालयको भवन २०७९ चैत्र १५ गते शिलान्यास भएर २०८१ फागुन २३ गते निर्माण सम्पन्न भएको वडाध्यक्ष चापागाईंले जानकारी दिनुभयो ।


१ करोड ७० लाख इस्टमेट गरिएकोमा एक करोड ३० लाखमा भवन सम्पन्न भएको छ । नवनिर्मित वडा कार्यालयको दुईतले भवनमा आठवटा ठूला कोठा र एउटा हल गरी ९ वटा कोठा रहेको छ । वडा कार्यालय भवन मूलगेटको आडमा पानीको फोहरा पनि निर्माण गरिएको छ । जसको लागत ४ लाख ३५ हजार लागेको छ । वडा कार्यालयको प्रवेश गर्ने ढोकाको अगाडि प्रत्येक दिनको आजको विचार भनेर राखिएको छ । गैडाकोट नगरपालिका वडा नम्बर ६ मा ११०० घरधुरीमा ४ हजार ८ सय २८ जनसङ्ख्या रहेका छन् । जसमा २ हजार ३ सय २८ महिला र २ हजार  ५ सय पुरुष रहेका छन् । छ वटा टोल विकास संस्था रहेको वडाका अधिकांश वडावासीहरू कृषि क्षेत्रमा आत्मनिर्भर रहेका छन् । 

 

कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, निवर्तमान नगर प्रमुख छत्रराज पौडेल, निवर्तमान वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

कर्यक्रममा वडा सदस्य चन्द्र बहादुर बिश्वकर्माले स्वागत मन्तब्य राख्नुभएको थियो भने सहजीकरण वडा सचिव रामु पौडेलले गर्नुभएको थियो ।