दोस्रो राष्ट्रिय आर्थिक गणना आजदेखि सुरु
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ आजदेखि सुरु गरेको छ । तथ्याङ्क गणनाको तयारीस्वरूप देशका ७७ जिल्लामा ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएका छन् । स्थलगत तथ्याङ्क सङ्कलनका लागि ४ हजार ४ सय ३३ जना तालिम प्राप्त गणक तथा सुपरिवेक्षकहरू असार ७ गतेसम्म परिचालन हुनेछन् ।
यस गणनाबाट प्राप्त तथ्याङ्कका आधारमा आर्थिक वर्ष २०८३÷८४ को सुरुदेखि नै तथ्याङ्क प्रशोधन तथा विश्लेषण गरी नतिजा क्रमशः सार्वजनिक गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । राष्ट्रिय आर्थिक गणनाको मुख्य उद्देश्य उद्योग, व्यापार, सेवा, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको संख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गर्नु रहेको छ । यसका साथै कुल गार्हस्थ उत्पादनको अनुमान सुदृढीकरण, राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तनका लागि आवश्यक तथ्याङ्क उत्पादन तथा नीति निर्माण र योजना तर्जुमा गर्न सहयोग पुर्याउने लक्ष्य राखिएको छ ।
कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार यस गणनाले देशको आर्थिक तथ्याङ्क प्रणालीलाई संस्थागत रूपमा मजबुत बनाउने, लगानी प्रवद्र्धन तथा रोजगारी सिर्जनामा सहयोग गर्ने अपेक्षा गरिएको छ ।