आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोलीबाट एउटा वयस्क पोथी गैँडाको मृत्यु भएको छ । निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जमा गस्ती गएका सेनालाई गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि चलाएको गोलीबाट गैँडाको मृत्यु भएको हो ।
निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गण अन्तर्गत सेहरी सुरक्षा पोष्टबाट निकुञ्जको कोर क्षेत्रमा परिचालित टोली गस्ती गर्दै जाने क्रममा अकस्मात् अर्धवयस्क बच्चासहितको पोथी गैँडाले टोलीको एक जना सिपाहीलाई आक्रमण गरेको मगरले बताउनुभयो । आत्मरक्षाका लागि गैँडा धपाउन १४ राउण्ड हवाई फायर गर्दा पनि गैँडा नभागेपछि आक्रमणमा परेका सिपाहीको बचाउनको लागि थप दुई राउण्ड गोली चलाउँदा गैँडालाई लागेको उहाँले बताउनुभयो । सेनाले चलाएको गोली गैँडाको पेटभन्दामाथि करङमा लागेर अन्दाजी २४ वर्षको पोथी गैँडाको घटनास्थलमा नै मृत्यु भएको मगरले बताउनुभयो ।
गोली प्रहारबाट मरेको गैँडाको खाग र खुर सुरक्षित रहेको उल्लेख गर्दै मगरले निकुञ्जका पशु चिकित्सकको टोलीले पोष्टमार्टम गर्दा गैँडाको फोक्सोमा प्वाल परेको भेटिएको उहाँको भनाइ छ । गैँडाको आक्रमणबाट घाइते भएका सिपाहीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको उहाँले बताउनुभयो ।