बिर्तामोडको कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति
बिर्तामोड (झापा) । अर्जुनधारा नगरपालिका-११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । रौतहटका नुर मोहमदद्वारा सञ्चालित उक्त उद्योगमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सातवटा दमकलको सहयोगमा निभाइएको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आगलागी भएको खबर प्राप्त हुनासाथ बिर्तामोड, मेचीनगर, दमक, कमल गाउँपालिका, भद्रपुर र शिवसताक्षी नगरपालिकाबाट दमकल परिचालन गरिएको थियो । सुरक्षा निकाय र स्थानीयवासीको सक्रिय सहभागितामा आगो फैलिन नदिइ निभाइएको प्रहरीले जनाएको छ ।
इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले आगो पूर्ण रूपमा निभाइएको र घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । आगलागीबाट उद्योगका मेसिन, कच्चा पदार्थ तथा तयारी सामग्री गरी ८० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
उद्योग सञ्चालक मोहमदका अनुसार उद्योगमा रहेका तीनवटा मेसिन, करिब ६० क्वीन्टल कालो कपास, २० क्वीन्टल सेतो कपास तथा कपासजन्य अन्य ज्वलनशील सामग्री जलेर नष्ट भएको छ । रासस