वीर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ चैत २५ बुधबार १७:५३:०० मा प्रकाशित

काठमाडौं । घुस रकमसहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको दाबी गर्दै बुधबार दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार आयोगले लेखा अधिकृत दाहालसँग ९३ हजार ८५० रुपैयाँ बिगो मागदाबी गरेको छ । यस्तै, ऐनको दफा ३ को उपदफा १ बमोजिम कैद सजाय पनि मागदाबी गरिएको छ ।

 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ बोडेका दाहाल गत असोजमा एक लाख २० हजार ८५० रुपैयाँ घुसहित पक्राउ परेका थिए । वीर अस्पतालमा कार्यरत दाहालले विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस माग्ने गरेको आरोप थियो । सोही आधारमा परिचालित आयोगको टोलीले भएर घुस रकमसहित पक्राउ गरेको थियो ।