नवलपुरमा ५ वर्षयता डेढेलोका घटना कम हुँदै, यस पटक शुन्य वर्ष होला ?

२०८२ चैत २४ मंगलबार १५:५५:०० मा प्रकाशित


नवलपुर । वन तथा भू–संरक्षण विभागले सार्वजनिक गरेको प्रतिवेदनमा देशभर पछिल्लो १३ वर्षको स्याटेलाइट तथ्यांक अनुसार डढेलोको जोखिम बढिरहेको छ । वि.सं. २०७० देखि २०८२ सालसम्म देशभर १३ हजार ६ सय २२ वटा वन डढेलोका घटना अभिलेख भएका छन् । अघिल्लो आर्थिक वर्षमा मात्र देशभर ७ सय ५१ वटा डढेलोका घटना भएका थिए । यस घटनामा परि १० जना घाइते  र ४ जनाको ज्यान गएको थियो । वन डढेलोमा ६० वटा गोठ र ७४ वटा पशु चौपायामा पनि क्षति पुगेको थियो । 

डढेलोका कारण २ करोड ३३ लाख ७१ हजार ९ सय १० रुपैँया भन्दा बढी निजी सम्पत्ति नोक्सानी भएको थियो । गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशमा डढेलोका कारण बढी निजी सम्पत्तिमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनमा उल्लेख रहेको छ । 

 

नवलपुर जिल्लामा विगत ५ वर्षमा ९ सय ४९ वटा वन डढेलोका घटना अभिलेखमा दर्ता भएका छन् । देशभरिमै नवलपुर जिल्ला डढेलोका लागि उच्च जोखिम रहेको क्षेत्र हो । 

यहाँ वन संरक्षणका लागि क्रियाशील निकाय र सामुदायिक वनहरूको सचेतनामूलक क्रियाकलापले प्रत्येक वर्ष डढेलोका घटनामा न्यूनिकरण हुँदै आएको छ । डढेलोका कारण वन क्षेत्रमा हुने क्षति पनि कम हुँदै गइरहेको तथ्यांकले देखाउँछ । जिल्लामा डढेलोका कारण मुख्य गरि साना वनस्पतिलाई क्षति पुगेको देखिन्छ । आ.व. २०८०/०८१ मा भने एकजनाको ज्यान गएको थियो । 

डिभिजन वन कार्यालय नवलपुरका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २ सय ३७ वटा डढेलोको घटना घटेका थिए भने आर्थिक वर्ष २०८१/०८२ मा ७१ स्थानमा मात्र डढेलो लागेको तथ्यांक छ । यसैगरी ५ वर्ष अघि लागेको डढेलोका कारण ६ हजार ५ सय हेक्टरमा रहेका साना वनस्पतिमा क्षति पुगेको थियो भने गत आर्थिक वर्षमा २ हजार १ सय ५० हेक्टरमा साना वनस्पतिमा क्षति पुगेको छ । 

 

डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीले नवलपुरमा डढेलो लाग्नुपूर्व र लागिसकेपछि के के गर्ने सो को पूर्व तयारीका साथ काम गरिएको बताउनुभयो । 

वन संरक्षणका सन्दर्भमा डिभिजनल वन अधिकृत अधिकारी भन्नुहुन्छ “वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक, वन व्यवस्थापनभित्र जागरुक, नियन्त्रणका लागि योजना र कार्यान्वयन गर्ने, डढेलो लाग्ने संभावित क्षेत्रको पहिचान, रोकथामका लागि रेस्पोन्स टिम परिचालन लगायतका विभिन्न कार्यबाट सामुदायिक वनहरुको प्रत्यक्ष सहभागितामा नियन्त्रणका लागि काम भइरहेको छ ।” 

डिभिजनल वन अधिकृत अधिकारीका अनुसार अहिले जिल्लामा डढेलो शुन्य जस्तै रहेको छ । उहाँ भन्नुहुन्छ “मध्यवर्ती क्षेत्रमा छिटफुट घटना भएपनि क्षति भएको छैन । यसलाई सामान्य रुपमा लिएका छौँ । अहिले डढलो शून्य वर्षको रुपमा बनाउन सकिन्छ की भन्ने तवरले खटिरहेका छाँै । 

अहिले डढेलो लाग्न नदिन सामुदायिक वन समूह सक्रिय बनेका छन् । वन समूहहरुले अग्नी नियन्त्रक दस्ता बनाएर काम गरिरहेको अधिकारीले बताउनुभयो । उहाँ भन्नहुन्छ “अग्नी रेखा बनाउने काम भइरहेको छ, चक्ला बनहरुमा झाडी सरसफाईको काम भइरहेको छ, यति मात्र होइन आमउपभोक्तामा सचेतना बढाउन सञ्चारकर्मीसँंग अन्तक्र्रिया गरिरहेका छाँै ।” 

डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीसंगको कुराकानी 

समूहहरुमा सचेतीकरण बढ्दै जाँदा प्रत्येक वर्ष डढेलोका घटना र क्षति न्यूनिकरण हुँदै गएको अधिकारीले बताउनुभयो । अधिकारीले वन समूह सचेत रहन अनुरोध गर्दै क्षति हुन नदिने गरि काम गर्न सुझाब दिनुभएको छ । उहाँले डढेलो नियन्त्रणमा सक्रिय समूहलाई सम्मान गर्ने बताउनुभयो । शुन्य वर्ष बनाउन सबै सक्रिय भएर अघि बढ्न समेत डिभिजनल वन अधिकृत अधिकारीले आग्रह गर्नुभएको छ ।