सहकारीमा वित्तीय सुशासनका लागि कावासोतीमा दुई दिने जोखिम व्यवस्थापन तालिम सुरु
कावासोती । नवलपुरका सहकारी क्षेत्रमा बढ्दै गएका चुनौतीहरूलाई मध्यनजर गर्दै नवलपुरको कावासोतीमा “सहकारीमा जोखिम विश्लेषण, मापन तथा व्यवस्थापन“ सम्बन्धी दुई दिवसीय तालिम सुरु भएको छ । जिल्ला सहकारी संघ लिमिटेड, नवलपरासी (ब.सु.पूर्व) को आयोजनामा सोमबारदेखि तालिमको सुरुवात गरिएको हो ।
“उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता“ भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रमको उद्घाटन जिल्ला सहकारी संघका अध्यक्ष तिलक प्रसाद पराजुलीले व्यानरमा हस्ताक्षर गरेर गर्नुभयो । कालीगण्डकी साकोसको सभाहलमा आयोजित उद्घाटन सत्रको अध्यक्षता संघका उपाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक तुलमणि पौडेलले गर्नुभएको थियो।

सहकारी संस्थाहरूमा वित्तीय सुशासन कायम गर्न र आउन सक्ने सम्भावित जोखिमहरूलाई समयमै पहिचान गरी न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पराजुलीले वर्तमान अवस्थामा सहकारीहरूले सदस्यको विश्वास जित्न र संस्थालाई दिगो बनाउन जोखिम व्यवस्थापनका औजारहरू प्रयोग गर्नैपर्नेमा जोड दिनुभयो।
सहकारी क्षेत्रका विज्ञ केशव प्रसाद पोखरेलले प्रशिक्षकका रुपमा तालिममा जोखिम पहिचान, मापन र व्यवस्थापनका आधुनिक प्रविधि एवं व्यावहारिक अभ्यासहरूको सहजीकरण गर्नुहुनेछ ।
तालिममा जिल्लाभरका विभिन्न सहकारी संस्थाहरूबाट ४५ जना प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ ।
तालिमको उद्घाटन सत्रमा जिल्ला सहकारी संघका सह-सचिव बिन्दु अधिकारी, लेखा संयोजक छविलाल अर्याल र सहकारी कर्मचारी समाज नवलपुरका अध्यक्ष वेगराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण संघका सचिव श्याम सुन्दर लामिछानेले गर्नुभएको थियो।
मंगलबारसम्म चल्ने यस तालिमले सहभागीहरूलाई संस्थागत जोखिम न्यूनीकरणमा दक्ष बनाउने र सहकारीलाई अझ बढी जिम्मेवार एवं पारदर्शी बनाउन कोसेढुङ्गा सावित हुने विश्वास आयोजकले लिएको छ ।