शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
काठमाण्डौँ । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सुनाउँदै पेट्रोलिय आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयको समय बिहान ९ देखि ५ बजे बनाउने निर्णय भएको बताउनुभयो । त्यस्तै उहाँले सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले एसियाली विकास बैङ्क र विश्व बैङ्कले उपलब्ध गराउने ९० मिलियन अमेरिकन डलर बराबरको सहुलियतपूर्ण ऋण र विश्व बैङ्कबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको उहाँको भनाई छ ।
सरकारले राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्नुका साथै डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न कानुनी मान्यता दिने निर्णयसमेत गरेको प्रवक्ता पोखरेलले बताउनुभयो ।