चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै
चितवन । चितवनमा यहीँ चैतको तेस्रो सातादेखि जिल्लाका सातै पालिकामा ‘पिपिआर’ खोप अभियान सञ्चालन गरिने भएको छ । अभियान अन्तर्गत दुई लाख ५० हजार बाख्रालाई सो खोप लगाइने लक्ष्य निर्धारण गरिएको छ । जिल्लामा अहिले तीन लाख बाख्रा पालिएको जनाइएको छ ।
पशुसेवा कार्यालयका प्रमुख डा.प्रभात न्यौपानेका अनुसार यो रोग ‘मोरडिली’ भाइरसका कारण लाग्ने गर्दछ । यो रोग लागेपछि ५० देखि ९० प्रतिशत बाख्रा मर्ने गर्दछन् । यो रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडापखाला लाग्ने, नाक-आँखाबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, श्वास फेर्न गारो हुने, खान मन नलाग्ने, कमजोर हुने हुँदा छिट्टै मर्ने जस्ता लक्षण देखिन्छ ।
कार्यालयले हरेक वर्ष बाख्रामा यो रोग विरुद्धको खोप दिइँदै आएको छ । यो रोग रोगी बाख्राको जुत्तोबाट, रोगी बाख्राको नाकबाट निस्कने सिँगानबाट, आँखाबाट निस्कने आँशुको माध्यमबाट, रोगी बाख्राले खोक्दा र हाच्छिउँ गर्दा हावामा मिसिने मसिना कणहरुमा भएका विषाणुबाट सङ्क्रमण फैलिने हुन्छ । यसका साथै खाने पानी, दानाको डुँड र प्रयोग गरिएको सोत्तर पनि विषाणुबाट सङ्क्रमित भई सङक्रमण फैलिने हुन्छ ।
पिपिआर रोगले मरेका पशुलाई गाड्नु वा जलाउनुका साथै रोगी बाख्रासँग लसपस भएका सरसामान जलाउनु वा गाड्ने गर्नुपर्दछ । यस रोगबाट बचाउनका लागि तीन महिना उमेर पुगेका सम्पूर्ण स्वस्थ भेडा बाख्रालाई प्रत्येक दुई वर्षमा यस रोगविरुद्ध खोप लगाउनुपर्दछ ।