श्री त्रिपुरेश्वर हरिहर मन्दिरमा महायज्ञ उद्घाटन, पूर्वसन्ध्यामा भव्य कलश यात्रा सम्पन्न

२०८२ फाल्गुण २३ शनिबार १७:०३:०० मा प्रकाशित

नवलपुर । गैँडाकोट नगरपालिका–१७ अमरापुरीस्थित नारायणी नदीको तटमा रहेको श्री त्रिपुरेश्वर हरिहर मन्दिरमा श्रीमद्भागवत सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ उद्घाटन भएको छ । महायज्ञको पूर्वसन्ध्यामा शनिबार नगर तथा वडा स्तरका विभिन्न संघ–संस्था, मठमन्दिर, विद्यालय, आमा समूह तथा टोल सुधार समितिहरूको सहभागितामा भव्य कलश यात्रा सम्पन्न गरिएको छ ।

अन्तर्राष्ट्रिय कथावाचिका मृदुभाषी पुज्य माता श्री राधिका दासीजीले आयोजकको अथाह प्रयासबाट यो महायज्ञ सुरु भएको र यसलाई सफल पार्ने जिम्मा भक्तजनहरूको भएको बताउनुभयो। उहाँले दिव्य पावन भूमिमा बाबा त्रिपुरेश्वरको कृपाले जुन स्थानमा धेरै भगवानका भक्तहरू बसेर कथाको आनन्द लिनुहुन्छ त्यो ठाउँ उद्देश्य सम्मान हुने बताउनुभयो । उहाँले तीर्थयात्रा गर्न कहाँ कहाँ जानुहुन्छ अहिले हजुरहरु ज्ञान गंगारुपी गंगासागर यही बगिरहेकी छन् यो स्थान तीर्थमय रहेको बताउनुभयो ।

त्रिपुरेश्वर हरिहर मन्दिरका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले मन्दिर परिसरमा भौतिक संरचना निर्माणको लागि महायज्ञ गरेको बताउनुभयो। उहाँले कलश यात्रा गरी शनिबार बाट सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान  महायज्ञ यही फागुन २९ गतेसम्म सञ्चालन हुने बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय कथावाचिका राधिका दासीजी माताबाट कथावाचन हुने भएकोले सम्पूर्ण भक्तजनहरूलाई उपस्थितका लागि अनुरोध गर्नुभएको छ ।

गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले महायज्ञ गरेर यस ठाउँको धार्मिक पर्यटकीय स्थल बनाउने सोच धेरै राम्रो भएको बताउनुभयो। उहाँले  नारायणी नदी तटमा धार्मिक पर्यटकीय विकास निर्माणको उद्देश्यले सञ्चालन भएको महायज्ञ मा नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो।

गैंडाकोट नगरपालिका नगर उपप्रमुख शान्ति कोइरालाले हरेक ठाउँमा सफल बनाउन दिदीबहिनीहरूको महत्वपूर्ण हात रहेको बताउनुभयो। उहाँले कलश यात्रामा पनि विभिन्न समूहबाट सहभागी भएर महायज्ञलाई सफल बनाउन खट्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले जुन उद्देश्यबाट महायज्ञ सुरु भएको छ यो पूर्णरूपमा सफल बनाउन हाम्रो पनि प्रमुख हात रहने बताउनुभयो ।

मौलकालिका मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष शालिकराम सापकोटाले नारायणी नदी तटिय क्षेत्रमा मा रहेको  त्रिपुरेश्वर मन्दिर परिसरमा लाई  धार्मिक पर्यटकीय रुपमा अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।

आयोजक श्री त्रिपुरेश्वर हरिहर मन्दिरका अनुसार यही फागुन २३ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महायज्ञमा अन्तर्राष्ट्रिय कथावाचिका मृदुभाषी पुज्य माता श्री राधिका दासी ज्यूको मुखारविन्दुबाट संगीतमय श्रीमद्भागवत कथा वाचन हुने छ । महायज्ञमा आचार्य सुभाकर गौतम, उपवाचकहरु आचार्य गाविन्द अर्याल, गणेश अर्जुन पोख्रेल,सन्त दिनदयाल महाराज रहनुहुनेछ । साथै महायज्ञ अवधिभर अन्तर्राष्ट्रिय झाँकीसहित विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाइएको छ ।

कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष विनोद मल्ल, वडा नम्बर १७ का वडाध्यक्ष गोपी कडेंल लगायत जनप्रतिनिधि,समाजसेवी, धार्मिक व्यत्ति तथा स्थानीय वासीहरूको सहभागिता रहेको थियो ।
मन्दिरका सचिव आनन्द रिजालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण कार्यक्रम प्रस्तोता खेमराज रेग्मीले गर्नुभएको थियो।