आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?

२०८२ फाल्गुण १९ मंगलबार ०६:२९:०० मा प्रकाशित


आज फागून १९ गते पूर्णिमाको दिन खण्डग्रास चन्द्र ग्रहण पर्न गएको छ । आज साँझ ६ बजेर ३  मिनेटबाट ग्रहण सुरु हुनेछ । ग्रहण ७ बजेर २ मिनेट सम्म रहने छ । एक घण्टा ५ मिनेट यस ग्रहणको अवधि रहनेछ । चन्द्र ग्रहणको सुतक काल सामान्यतया ग्रहण लाग्नु ९ घण्टा अगावै सुरु हुनेछ । यस पछि कुनै पनि शुभ कार्य गर्न नहुने ज्योतिष कृष्णप्रसाद पौडेलले बताउनुभएको छ । यो एउटा चन्द्रमाकोे सामान्य बृत चक्र हो जहाँ सूर्य र चन्द्रकोे बिचमा पृथ्वी पर्न जान्छ । यस समयमा पृथ्वी, चन्द्र र सूर्यबिचको दूरी सबैभन्दा थोरै हुन्छ । यस क्रममा पृथ्वीको छाया चन्द्रमामा देखिन्छ, चन्द्र नै प्रकाशको अभावमा र पृथ्वीको छायाले कालो देखिन्छ र यो नै चन्द्र ग्रहण हो । 
सामान्यतया ग्रहणलाई नराम्रो रूपमा व्याख्या गरिएको पाइएता पनि यो प्रकृतिको एउटा सामान्य प्रक्रिया हो तथापि केही हदसम्म मानवको संवेग, व्यवहार र सामाजिक अन्तरक्रिया पद्धतिहरूमा असर पर्न सक्ने सनातन ठहर छ । 
ग्रहण पश्चात् दानपूण्यका काम गर्ने, ग्रहण अवधिभर खानपिन नगर्ने, कीर्तन भजन गर्ने चलन सदियौँदेखि चलिआएको छ । ग्रहण पछि खोला या तीर्थस्थलमा स्नान गर्ने चलन पनि छ । यस चन्द्र ग्रहणले अशान्ति र असहिष्णु तत्वहरूको नाश र नेपालमा अमन चैन फैलिन सक्ने संकेत देखिएको ज्योतिषहरुको भनाइ छ । 
यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देखिने वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्राडा जयन्त आचार्यले जानकारी दिनुभयो ।  मंगलबार साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा उदाउँने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको हो।
आज चन्द्र ग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता नपर्ने खगोलविद्ले बताएका छन्। सूर्यग्रहण जस्तो चन्द्र  ग्रहणबाट आँखालाई असर नगर्ने हुनाले नांगो आँखाले खुला ठाउँबाट चन्द्रग्रहण हेर्न सकिने छ। यसअघि गएको भदौ २२ गते राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको थियो। 
सूर्यग्रहण भने नेपालबाट अब २०८४ मात्रै देखिने खगोलविद्ले बताएका छन्।