गैँडाकोट मेयर कपमा सुदूरपश्चिम सेमीफाइनल प्रवेश
नवलपुर । नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले सेमीफाइनल यात्रा तयार गरेको छ ।
आइतबार भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ६१ रनले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । टस जितेर बलिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६० रनको योगफल तयार पारेको थियो । १६१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोशी प्रदेशले १९ दशमलव १ ओभर खेल्दै १० विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सफल भयो ।
सुदूरपश्चिमको सेमीफाइनल यात्रका लागि आशिष तिरुवाले ४७ रनको योगदान दिए । तिरुवाले २८ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै टिमका लागि अघिल्लो यात्राको ढोका खोल्न महत्वपूर्ण भूमिका खेले । सुदूरपश्चिमका लागि टेक रावतले २४ बलमा दुई छक्का र तीन चौका सहित ३८, कप्तान किरन ठगुन्नाले २४ बलमा अविजित रहँदै दुई छक्का र एक चौकासहित २८, लोकेन्द्र चन्दले २५ बलमा तीन चौकासहित २० रनको योगदान दिए ।
यस खेलमा कोशी प्रदेशका ज्ञानेन्द्र श्रेष्ठले दुई तथा श्रवन किस्कु, रोहन शाह, कृतिक कमातले एक÷एक विकेट लिन सफल भए ।
जवाफी ब्याटिङमा उत्रिएको कोशी प्रदेशका लागि कृतिक कमातले १७ बलमा एक छक्का र एक चौकासहित १९, गौरव कटवालले २५ बलमा एक छक्का र एक चौकासहित १८ रनको योगफल तयार पारे । त्यस्तै, कप्तान शाकिब हकले १९ बलमा १६, भूपाल दङ्गालले १८ बलमा १३ को योगदान दिँदा अन्य ब्याटरहरुले दोहोरो अङ्क जोड्न सकेनन् ।
कोशीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका कैलाश ऐर, सौर्य श्रेष्ठ र लोकेन्द्र चन्दले दुई÷दुई विकेट लिए । आजको खेलमा सुदूरपश्चिमका आशिष तिरुवा म्यान अफ दी म्याच घोषित भए । सुदूरपश्चिम प्रदेशले उपाधि भिडन्तमा स्थान सुरक्षित पार्न सोमबार मधेश प्रदेशसँग सेमीफाइनल खेल्नेछ ।
जिल्लाकै ठूलो धन राशिको राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट सात वटा तथा आयोजक एक गरी आठ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता आयोजक संस्था नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाका अनुसार प्रतियोगिताको म्यान अफ दी सिरिजले २५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याटर, बलर, फिल्डर एवम् किपरले १५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् ।
त्यस्तै, बेस्ट क्याच अफ दी टुर्नामेन्टले १० हजार एवम् प्रत्येक खेलको म्यान अफ दी म्याचले पाँच हजार रुपैयाँ र नव प्रतिभा खेलाडीलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिने सापकोटाको भनाई छ ।