कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

२०८२ माघ २१ बुधबार १६:४५:०० मा प्रकाशित

गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी परेका छैनन् ।


दलहरू आआफ्ना आन्तरिक चुनावी तयारीमा लागिरहेको अवस्थामा हालसम्म कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।


निर्वाचन आचारसंहिताको कार्यान्वयनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्व एवं प्रमुख जिल्ला अधिकारी सहसंयोजक रहनुभएको निर्वाचन आचारसंहिता अनुगमन समिति रहेको उहाँले जानकारी दिनुभयो ।


उक्त समितिका सदस्यमा अनुगमन अधिकृतका रुपमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक एवं सुरक्षा निकायका प्रमुख रहनुभएको उहाँले बताउनुभयो । तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कूल ४९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।


चुनाव प्रचारप्रसारका लागि आगामी फागुन ४ देखि १७ गतेसम्म तोकिए पनि दलहरूले आफ्नो आन्तरिक तयारीस्वरुप चुनाव प्रचारप्रसार समितिका कार्यालय स्थापना एवं मतदाता भेटघाट लगायतका कार्यक्रमलाई अघि बढाएका छन् ।


निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि कार्यालयले आवश्यक गृहकार्यसँगै निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि पनि अनुगमन गरिरहेको जनाइएको छ ।  रासस