२०१५ सालमा काँग्रेसको घोषणापत्रको भिजन टेन के थियो ? जसले विपिलाई प्रधानमन्त्री बनायो

२०८२ माघ १८ आइतबार २१:५६:०० मा प्रकाशित


अहिले देशका १६५ निर्वाचन क्षेत्रमा चुनावी रन्को छ । फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुँदैछ । अहिलेसम्म दलहरु विना घोषणापत्र घरदैलोमा व्यस्त छन् । विगतमा घोषणापत्र आए, कार्यान्वयन भएन तसर्थ घोषणापत्र किन चाहियो ? भन्ने आवाज नागरिक पंक्तिमा सुनिन्छ  । संगसंगै घोषणा पत्र विना नै कसरी दललाई मत दिन सुनिश्चित हुन सकिन्छ भन्ने आवाज पनि नागरिक पंक्तिमा उत्तिकै छ । विगतका घोषणपत्र कार्यान्वयन भएपनि नभएपनि निर्वाचन अघि घोषणा पत्र अपरिहार्य छ । घोषणा पत्र विनाको राजनीतिक दललाई कुनै पनि विश्वास गर्न सकिदैन । घोषणपत्र व्यवहारिक, कार्यान्वयन योग्य, जनताको आवश्यकतामा आधारित बनाउनु दलहरुको कर्तव्य हो । 


नेपाली काँग्रेसको अगुवाइमा भएको २००७ सालको क्रान्तिले देशमा राणाहरुको शासन अन्त्य गर्यो । यसपछिको आठवर्ष क्रान्तिलाई व्यवस्थापन गर्न लागेको थियो । करिब ८ वर्षपछि वि.सं. २०१५ सालमा नेपालमा पहिलो आम निर्वाचन भएको थियो । जनताले पहिलो पटक संसदीय निर्वाचनमा मत हालेका थिए । पहिलो निर्वाचनमा नेपाली कांग्रेस, नेपाल राष्ट्रवादी गोरखा परिषद्, संयुक्त प्रजातन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी, प्रजातान्त्रिक महासभा, नेपाल प्रजा परिषद् (मिश्र गुट), नेपाल प्रजा परिषद् (आचार्य गुट), तराई कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेस सहभागी थिए ।


२०१५ सालकै निर्वाचनबाट दलहरुले चुनावी घोषणापत्रको अभ्यासको थालनी गरेका थिए । राणा शासनको अन्त्यको लागि क्रान्तिको अगुवाई गरेको नेपाली काँग्रेसले तत्कालिन समयमा कस्तो चुनाउ घोषणापत्र सार्वजनिक गरेको थियो ? नेपाली काँग्रेसले के कस्ता मुद्धालाई प्राथमिकतामा राखेको थियो ? इतिहासको विषय आजको पुस्ताका लागि अध्ययनको विषय हुन सक्छ । 


नेपाली काँग्रेसले २०१५ सालको चुनाउ घोषणापत्रमा राजनीतिक, आर्थिक र सामाजिक सुधारलाई प्राथमिकतामा राखेको थियो । घोषणापत्रको पृष्ठभूमिमा लेखिएको छ “आज हाम्रो देशका जनताको अनुहारमा दरिद्रता तथा अज्ञानताको गाढा छाप छ । राष्ट्र दीनहीन अवस्थामा छ । खान, लाउन र बस्नसम्मको राम्रो व्यवस्था नभएका दाजुभाई, दिदिबहिनीहरुको जीवन एउटा लामो यातना जस्तो बनेको छ ।” घोषणापत्रले सामान्य जनतालाई सम्बोधन गर्न खोजेको थियो ।

२०१५ सालको चुनाउ घोषणा पत्रमा जलस्रोत र विद्युत शक्तिको कुरा गरेको छ । उर्वर भूमि र जंगलको कुरा गरेको छ । यसका साथै निम्न विषयहरुलाई बढी प्राथमिकतामा राखेको छ । अहिले विशेष महाधिवेशनबाट काँग्रेसको नेतृत्वमा आएका गगनकुमार थापा र विश्वप्रकाशहरुको नेतृत्वको नयाँ भनिएको काँग्रेस भिजन टेन सहितको घोषणा पत्र जारी गर्ने तयारी गरिरहेको छ । विपि कोइरालालाई प्रधानमन्त्री बनाएको २०१५ सालको आमनिर्वाचनअघि काँग्रेसको घोषणा पत्रपनि भिजन १० मा नै आधारित रहेको थियो । 


१) भूमि, गाउँ र किसान
यस सन्दर्भमा काँग्रेसको घोषणापत्रले जंगलहरुको संरक्षण, ठूलाठूला विर्ताहरुको राष्ट्रियकरण, रजौटा प्रथाको उन्मुलन,  जमिन्दारी प्रथाको उन्मुलन,  भूमि प्रयोगको सिमा निर्धारण,  सहकारी खेतीलाई सरकारी प्रोत्साहन,  कृषि बैंकको कल्पना, असल विउ र मलको वितरण, सिँचाईको व्यवस्थालाई प्राथमिकतामा राखेको थियो । गाउँतिर जाउ, गाउँलाई हेर जस्ता नारा समेत दिएको थियो । गाउँमा काम नपाएका नागरिकहरुलाई भू सेना बनाउने अर्थात् यस्ता सेनालाई कुलो नहर र कृषि कर्ममा लगाउने योजना थियो । 


२) भूमिहिन किसानहरुको वसोवासको व्यवस्था ः 
आज पनि उतिकै सान्दर्भिक मुद्धाको रुपमा रहेको भूमिहिन किसानहरुको बसोबासको व्यवस्था २०१५ मा पनि महत्वपूर्ण पक्ष रहेको थियो । भूमिको अधिकतम सिमा निर्धारण गरि रहेको भूभाग भूमिहिन किसानहरुको बसोसको व्यवस्था मिलाउने घोषणा गरेको थियो । 

३) उद्योग धन्दा तथा कलकारखाना 
राष्ट्रको सम्पन्नता उद्योग धन्दाको विस्तारबाट मात्र सम्भव रहेको तत्कालिन घोषणा पत्रमा उल्लेख रहेको पाइन्छ । तत्कालिन सरकारी नीतिले उद्योग तथा कलकारखानालाई नोक्सान भइरहेको र सुधारको आवश्यकता लेखिएको थियो । राष्ट्रिय रुपमा नेपाली मुद्राको प्रचलन, व्यापार सम्बन्धि सुनिश्चित नीति, साना मझौला ठूला गरी तीन प्रकारका उद्योग, नेपाली पूँजीको अभाव हटाउन गाउँगाउँमा साना उद्योगलाई प्राथमिकता, व्यक्तिगत पूँजीको संरक्षणको जिम्मा सरकारले लिने नीति लिएको थियो । विदेशी लगानी भित्राएर ठूलाठूला उद्योग सञ्चालनको नीति काँग्रेसले २०१५ सालको चुनाउको घोषणापत्रमा गरेको देखिन्छ । 

 

४) मजदूर नीति 
कलकारखानामा कार्यरत मजदूरको कल्याणका लागि मजदूर ऐन जारी गर्ने संकल्प गरेको थियो । 

 

५) प्रशासन
प्रशासनमा घुसखोरी र भ्रष्टाचार व्याप्त भएको समाज त्यति बेला पनि थियो भन्ने स्पष्ट घोषणापत्रमा देखिन्छ । सुशासन युक्त प्रशासन बनाउने काँग्रेसले अडान लिएको देखिन्छ । 

 

६) शिक्षित समुदाय र महिला बर्ग
देश विकासका लागि शिक्षित समुदाय र महिलाहरुको सहभागिता र विकासको नीति त्यति बेला देखिनै सारेको चुनाउ घोषणापत्रमा देखिन्छ । छात्रवृत्ती वैज्ञानिक बनाउने र शिक्षित समाजको कल्पना गरेको थियो । महिला तथा पिछडिएको वर्गहरुको सबै हकको संरक्षण गर्न शिक्षाद्धारा बौद्धिक विकासको नीति काँग्रेसले लिएको थियो । 


७) शासनको विकेन्द्रीकरण 


नेपाली काँग्रेसले प्रजातन्त्रको अभ्यास र विकासका लागि गाउँ तहलाइ नै शासन तन्त्रको सबै भन्दा तल्लो खुड्किलो बनाउने नीति अघि सारेको थियो । जिल्लाको व्यवस्थाका लागि स्थानीय जनताका प्रतिनिधिहरुको कमिटि बनाउने उल्लेख गरेको छ । स्थानीय विकास निर्माणको जिम्मेवारी स्थानीयस्तरका जनप्रतिनिधिहरुलाई दिने नीति लिने उल्ल्ेख गरेको छ । स्थानीय स्तरको विकासमा राज्यले पनि सहयोग गर्ने नीति बनाउने उल्लेख छ । 


८) धर्म 
देशमा धेरै किसिमका धर्म मान्ने मानिसहरु भएका कारण नेपाली काँग्रेसको स्पष्ट नीति रहेको जनाएको छ । यसमा लेखिएको छ “नेपाली काँग्रेस सबै धर्म मान्नेहरुको साझा हो ।” तसर्थ सरकाले प्रत्येक धर्म मान्नेलाई आफ्ना अन्तरात्माको विश्वासको धर्म र विधि विधान मान्ने र त्यस अनुसार चल्ने पूर्ण स्वतन्त्रता दिनुर्ने घोषणापत्रमा उल्लेख छ । 


९) शिक्षा, स्वास्थ्य र यातायात
कृषि र भूमिका सम्बन्धमा धेरै शब्द खर्च गरेको घोषणापत्रमा शिक्षा, स्वास्थ्य र यातायातलाई अन्तिममा उल्लेख गरेको छ । तर सबैभन्दा महत्वको पक्ष भनेर यसरी उल्लेख गरेको छ “नेपाली काँग्रेस शिक्षा, स्वास्थ्य र यातायात व्यवस्थालाई सबैभन्दा पहिलो आवश्यक ठान्दछ ।” यस निम्ति शिक्षा र स्वास्थ्यको व्यापक व्यवस्था, यातायातको राम्रो प्रवन्ध, सञ्चारको राम्रो इन्तजाम गर्न आफ्नो पूरा ताकत लगाउने उल्लेख गरेको छ । 


१०) वैदेशिक नीति
नेपाली काँग्रेसको वैदेशिक नीति विभिन्न राष्ट्रहरुसँग समानताका आधारमा मित्रता कायम गर्नु हुनेछ । नेपाली काँग्रेस कुनै पनि सामरिक गुटमा लाग्ने छैन भनि घोषणापत्रमा उल्लेख छ । संयुक्त राष्ट्रसंघ आफ्नो सदस्यताको सदुपयोग शान्तिको प्राप्तिका लागि गर्ने छ । नेपाली काँग्रेस आफ्नो महान छिमेकीहरुसँग पूर्णमित्रता राख्ने नीति लिएको उल्लेख छ । 


२०१५ सालमा काँग्रेसको घोषणपत्रको भिजन टेन लाई नागरिकहरुले स्वीकार गरेका थिए । नेपाली काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गर्दै सरकार बनाएको थियो । यस सरकारको नेतृत्व विपि कोइरालाले गरेका थिए । अहिले विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगनकुमार थापा नेतृत्वको काँग्रेसले भिजन टेन कै शैलीमा चुनावी घोषणापत्रको तयारी गरिरहेको छ ? के गगनको भिजन टेनले गगनलाई आगामी प्रधानमन्त्री बनाउला ?