चौथो गैँडाकोट महोत्सवः आज अर्जुन सापकोटासहितको प्रस्तुती
गैँडाकोट । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज चर्चित गायक अर्जुन सापकोटासहितका कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ ।
महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आज मंगलबार महोत्सवको सांस्कृतिक कार्यक्रममा सापकोटासहित सपना रोक्का, भरत क्षेत्रीको सँंस्कृतिक प्रस्तुती रहने छ । आजको कार्यक्रम सञ्चालन गायक तथा उद्घोषक दीपक खड्काले गर्ने लम्सालले बताए । त्यसैगरी, महोत्सव अन्तर्गत आजै भजन प्रतियोगितासमेत हुँदैछ ।
महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले भजन प्रतियोगितमा विभिन्न क्षेत्रबाट १८ वटा टिम सहभागी भएका भन्दै आठ टिम अघिल्लो चरणमा प्रवेश गरेका जानकारी दिए । मौलाकालिका मन्दिरको प्रतीकलाई गेटको आकार दिइएको महोत्सवको मुख्य आकर्षणको रुपमा जलपरी र ओपेरा हाउस रहेको सापकोटाले जानकारी दिए । यसपटकको महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्रवर्द्धन गरेको भन्दै सापकोटाले कृषिसँगै स्थानीय उत्पादन, व्यावसायिक स्टल, कृषि प्रदर्शनी, रेष्टुरेन्ट, बाल उद्यान रहेको बताए ।
महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका महासचिव एवम् महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले महोत्सवमा मुस्ताङबाट ल्याइएको ‘याक’समेत राखिएको बताए । याकमाथि चढेर फोटो, भिडियो बनाउन सकिने उनको भनाइ छ । माघ १० गतेसम्म सञ्चलन हुने महोत्सवमा करिब २५० स्टल रहेको भन्दै पाण्डेले महोत्सवमा दुई लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।
पाण्डेकाअनुसार महोत्सवमा करिब २५ करोड रुपैयाँ बराबरको कारोबार हुनेछ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँ मूल्यको टिकट तथा विद्यार्थीका लागि ७० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ ।
ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उल्लेख गर्दै पाण्डेले शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी हुने विद्यार्थीहरुलाई समेत निःशुल्क प्रवेश दिइने बताए । महोत्सव परिसरलाई सुरक्षित पार्नका लागि आन्तरिक र बाह्य सुरक्षाकर्मी तथा सिसीटिभी क्यामेराबाट निगरानी गरिएको पाण्डेले बताए ।
त्यस्तै, चौथो गैँडाकोट महोत्सवमा ५० हजार दर्शकले अवलोकन गरेका छन् । पुस २५ देखि सोमबारसम्म ५० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए ।