पारिजात आमा समूहमा तारा शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन

२०८२ पौष २९ मंगलबार १२:४२:०० मा प्रकाशित

गैंडाकोट । पारिजात आमा समूह गैंडाकोटको दशौँ साधारणसभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तारा शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।


नवगठित कार्यसमितिको उपाध्यक्षमा हेमा घर्ती मगर, सचिवमा सरस्वती अधिकारी, कोषाध्यक्षमा सीता कडेल, सह-सचिवमा कविता कंडेल र सह-कोषाध्यक्षमा सविता सुवेदी चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा पार्वती ठकुरी, उषा पाण्डे, विष्णु गहतराज, विमला दाहाल, सन्जु ढकाल र तुलसी पौडेल रहनुभएको छ ।


कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट नगरपालिकाकी कार्यपालिका सदस्य शान्ति न्यौपानेले आमा समूहहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । न्यौपानेले महिलाको सशक्तिकरण, सामाजिक एकता तथा विकास निर्माणका कार्यमा आमा समूहको सक्रियता प्रशंसनीय रहेको बताउँदै स्थानीय तहबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । न्यौपानेले पारीजात आमा समूहको आगामी यात्रा अझ सशक्त, प्रभावकारी र सफल रहोस् भन्ने कामना गर्नुभयो ।


नव-निर्वाचित अध्यक्ष तारा शर्माले समूहप्रति देखाइएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै आगामी कार्यकालमा आमा समूहलाई थप सक्रिय, अनुशासित र समाजसेवामुखी बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो । शर्माले महिलाको क्षमता विकास, सामाजिक उत्तरदायित्व र सामुदायिक कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।


यस अघि भएको साधारण सभामा प्रगति प्रतिवेदन सचिव तारा शर्माले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष तुलसी कडेलले प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष जुना भट्टराईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम समूहकी अध्यक्ष मनु ढुंगानाको अध्यक्षतामा भएको थियो ।

 
कार्यक्रमको अवसरमा पारिजात टोल विकास संस्थाभित्र रहेका करिब २० जना  ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो।