चौथो गैँडाकोट महोत्सव: आज चर्चित गायक हिमाल सागर आउँदै 

२०८२ पौष २८ सोमबार १३:३२:०० मा प्रकाशित

गैँडाकोट । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालित चौथो गैँडाकोट महोत्सवमा आज हिमाल सागरसहितका चर्चित कलाकारहरु आउने भएका छन् । 


महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार आज सोमबार महोत्सवमा हिमाल सागर सहित कलाकारहरु श्यामकला भण्डारी, शिव हमाल र दीपक खड्काको प्रस्तुती रहनेछ । त्यसैगरी, स्थानीय कला र संस्कृति प्रवर्द्धन गर्न आयोजना गरिएको भजन प्रतियोगिता सञ्चालन हुने लम्सालको भनाइ छ । भजनको संरक्षण गर्दै स्थानीय कला र संस्कृतिलाई जगेर्ना गर्न महोत्सव स्थलमा भजन प्रतियोगिता आयोजना गरिएको भन्दै लम्सालले प्रतियोगितामा १८ टिमको सहभगिता रहेको जानकारी दिए ।

 

सोमबार नारायणको बजार बन्द हुने भएकाले स्थानीय व्यापारीहरुको समेत महोत्सवम उपस्थिति रहने अपेक्षा गरिएको महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकाराम सापकोटाले जनकारी दिए । आयोजकले अपेक्षा गरेअनुसार नै महोत्सवमा दर्शकहरुको आकर्षण देखिएको भन्दै सापकोटाले माघ १० गतेसम्म महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने बताए । महोत्सवमा २५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने उनको भनाइ छ । 


महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको महोत्सव मूल संयोजक एवम् संघका वरिष्ठ उपाध्यक्ष छवि कँडेलले जानकारी दिए । कँडेलकाअनुसार ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।  

 

त्यस्तै, महोत्सवको आइतबार १० हजारभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार आइतबार सार्वजनिक बिदाको दिन परेकाले महोत्सवस्थलमा दर्शकहरुको उपस्थिति राम्रो देखिएको हो । महोत्सव सुरु भएको तेस्रो दिनमै १० हजार दर्शकले अवलोकन गर्नु सकारात्मक पक्ष भएको सापकोटाले बताउनुभयो । आगामी दिनमा दर्शकहरुको संख्या अझै बढ्दै जाने सापकोटाको भनाई छ । महोत्सवमा २५० व्यावसायिक स्टलसँगै जलपरी, फिस टनेल, ओपेरा हाउस, कृषि उपज प्रदर्शनी, मुस्ताङको याक राखिएको सापकोटाले जानकारी दिनुभयो ।

 
महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका महासचिव एवम् महोत्सवको सचिवालय संयोजक तेजनारायण पाण्डेले महोत्सवको सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो  । महोत्सव स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निजी सुरक्षाकर्मी तथा सिसीटिभी क्यामेराबाट निगरानी भइरहेको पाण्डेको भनाइ छ । आइतबार समिक्षा अधिकारी सहितका अन्य कलाकारहरुले प्रस्तुती दिएका थिए ।