जयश्री सामुदायिक वनको १० वर्षे दिगो वन व्यवस्थापन कार्ययोजना हस्तान्तरण
गैँडाकोट । जयश्री सामुदायिक वनको १० वर्षे दिगो वन व्यवस्थापन कार्ययोजना डिभिजन वन कार्यालय नवलपुरले हस्तान्तरण गरेको छ। आइतबार जयश्री सामुदायिक वनको सभाहलमा आयोजित कार्यक्रममा दिगो वन व्यवस्थापन छनोट प्रणालीअन्तर्गत तयार गरिएको १० वर्षीय कार्ययोजना डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले वन उपभोक्ता समूहलाई हस्तान्तरण गर्नुभएको हो।
सो अवसरमा सरुवा भई आउनुभएका डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीलाई जयश्री सामुदायिक वन उपभोक्ता समूहले स्वागत समेत गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले छनोट प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्ययोजना प्रदेशमै पहिलो पटक स्वीकृत भएको उल्लेख गर्दै सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभयो। साथै उहाँले सबैको साझा अपनत्व विकास हुने गरी प्रतिनिधिमूलक र सहभागितामूलक ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो।
संस्थाका अध्यक्ष भिमबहादुर कुमालले कार्ययोजना निर्माणमा सहयोग पु¥याउनुहुने सम्पूर्ण पक्षप्रति धन्यवाद व्यक्त गर्दै १० वर्षे कार्ययोजनाको आधारमा आगामी कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
सबडिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सन्तोष मिश्रले कार्यसमितिलाई कार्ययोजना अनुसार काम गर्न आग्रह गर्दै कार्यान्वयनका क्रममा देखिने समस्या समाधानका लागि सबडिभिजन कार्यालयसँग सहकार्य गर्न सुझाव दिनुभयो। उहाँले १० वर्षे कार्ययोजनामा जलवायु परिवर्तन, उद्यम विकास तथा पर्यटन विकास जस्ता महत्वपूर्ण विषय समेटिएकोले सहकार्यका माध्यमबाट काम गर्दा सहज हुने बताउनुभयो।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार टोलनाथ घिमिरेले दिगो वन व्यवस्थापन कार्ययोजनाले सही मार्गदर्शन गर्ने भएकाले कार्यसमितिहरूले सोहीअनुसार जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राख्नुभयो।कार्यक्रममा डिभिजन वन कार्यालयका वनअधिकृत अर्जुन सापकोटा लगायत प्रतिनिधिहरुको उपस्थिीति रहेको थियो ।
संस्थाका उपाध्यक्ष ढाका सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव टेक बहादुर आले मगरले गर्नुभएको थियो।