चितवनबाट अनुसन्धानमूलक पत्रिका प्रकाशन गरिने 

२०७८ असोज २३ शनिबार १६:३४:०० मा प्रकाशित

भरतपुर । समाजशास्त्र अध्ययन तथा अनुसन्धान समाज –नेपाल विरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले विजया दशमी, दिपावली, नेपाल सम्बत, छठ तथा इदको पावन अवसर पारेर शनिवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्र बहुमुखि क्याम्पसका प्रमुख दयाराम पौडेलले अनुसन्धानमुलक कार्यहरू अगाडी बढाउन माता दुर्गा भवानीले शक्ति प्रदान गरुन् भनि शुभकामना व्यक्त गर्नुभयो । शिक्षा परीक्षामुखी नभई अनुसन्धान मूलक हुनुपर्ने कुरामा जोड दिंदै उक्त कार्यको थालनी यसै समाजले गर्नुपर्ने कुरामा क्याम्पस प्रमुख पौडेलले जोड दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि समाज शास्त्र विभाग प्रमुख केशवराज सापकोटाले हाम्रा धर्म संस्कृति र परम्परालाई समाजशास्त्रको विद्यार्थीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सभापति महेशप्रसाद अधिकारी, सैनिक विद्यालयका समाजशास्त्र प्रमुख रुद्रप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका सचिव मनोज विक्रम बिष्टले संस्थागत उद्देश्य तथा कार्यक्रम बारेमा प्रकाश पार्नु भएको उक्त कार्यक्रममा सह सचिव अनुराधा महतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा समाजशास्त्र विभाग अन्तर्गतका सम्पूर्ण प्राध्यापकहरू, विद्यार्थी संगठनका प्रतिनिधीहरु तथा समाज शास्त्र अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । समाजका अध्यक्ष प्रेम कंडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई जगन्नाथ उपाध्यायले सहजीकरण गर्नु भएको थियो । समाजले अनुसन्धानमूलक लेखमा आधारित रहेर अनुसन्धानमूलक पत्रिका प्रकाशन गर्न लागेको संस्थाका अध्यक्ष प्रेम कंडेलले बताउनु भयो ।