चिसो बढेसँगै नन्दन सामुदायिक वनद्धारा उपभोक्ताका लागी दाउरा वितरण
गैंडाकोट । गैंडाकोट-८ मा रहेको नन्दन सामुदायिक वनले जाडो मौसमलाई लक्षित गर्दै आफ्ना सदस्य, ज्येष्ठ नागरिक, सुत्केरी तथा बालबालिकालाई दाउरा वितरण गरेको छ । अघिल्ला वर्षहरूदेखि निरन्तर दाउरा वितरण गर्दै आएको वनले यस वर्ष पनि आफ्नो कार्यक्षेत्रभित्रका १६ वटा टोल विकास संस्थामार्फत दाउरा वितरण गरेको हो । अघिल्ला वर्षहरूमा दाउरा सम्बन्धित व्यक्तिसम्म नपुगेको गुनासो आएपछि वनले टोल विकास संस्थाका पदाधिकारीलाई जिम्मेवारी दिइएको जनाएको छ । टोल विकास संस्थाका पदाधिकारीले बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरीलाई प्राथमिकताका आधारमा दाउरा वितरण गरिएको नन्दन सामुदायिक वनका अध्यक्ष हरिमाया अधिकारीले जानकारी दिनुभयो ।
अध्यक्ष अधिकारीका अनुसार जाडोका कारण कसैलाई पनि चिसोमा कष्ट नहोस् भन्ने उद्देश्यले दाउरा वितरण गरिएको हो । यस वर्ष वनले करिब १०० क्विन्टल दाउरा वितरण गर्ने लक्ष्य राखेको छ । बढ्दो चिसोका कारण दीर्घरोगी, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको अवस्थामा नन्दन सामुदायिक वनले गरेको यो पहल प्रशंसनीय रहेको छ ।