तेस्रो गैँडाकोट वडा स्तरीय मेयर कप भलिबल प्रतियोगिताका विजेतालाई वडा नं. ८ ले गर्यो सम्मान
गैँडाकोट । गैंडाकोटमा भएको तेस्रो गैंडाकोट वडास्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गैँडाकोट वडा नं ८ ले हासिल गरेको छ । प्रथम स्थान हासिल गरेसँगै गैंडाकोट वडा नं ८ को कार्यालयले आइतबार खेलाडीसँगै खुशीयाली सहित सम्मान गरेको छ ।
कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष प्रेम सापकोटाले खेलाडिहरुलाई हौसला दिने उदेश्यसहित सम्पूर्ण विजयी खेलाडीहरुलाई बधाई दिनुभयो । अध्यक्ष सापकोटाले आगामी दिनमा पनि खेलकुदको विकासका लागी वडाले खेलकुदको क्षेत्रमा काम गर्ने बताउनुभयो । आगामी दिनमा वडाका विजयी टोलीले उपविजेता टिमसँग आफ्नै खेलमैदानमा मैत्रीपूर्ण खेल खेलाउने लक्ष्य वडाको रहेको बताउनुभयो ।
प्रतियोगितामा विजयी टोलीले प्राप्त गरेको शिल्ड वडालाई हस्तान्तरण गरिएको छ । प्रतियोगितामा टिम व्यवस्थापकको रुपमा वडा नं ८ का वडासदस्य खगेश्वर सापकोटा रहनुभएको थियो ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ गैंडाकोट १४ टाउन भागर युवा क्लबको खेलमैदानमा भएको प्रतियोगितामा गैंडाकोट १४ लाई २-१ ले हराउँदै वडा नं ८ ले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
उपाधिसँगै ५५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।प्रतियोगितामा १४ टिमको सहभागीता रहेको थियो ।
