प्रथम सूर्यभक्त पतनादेवी स्मृति अन्तरमावि स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता पौष १० देखि हुने
गैंडाकोट । प्रथम सूर्यभक्त पतनादेवी स्मृति अन्तरमावि स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन एसपीएम कलेजको आयोजनामा हुने प्रतियोगिता पौष १० देखि १३ गतेसम्म चल्ने पत्रकार सम्मेलनमार्फत कलेजले जानकारी गराएको हो ।
खेलकुदको क्षेत्रमा राष्ट्रिय खेल भलिबललाई प्राथमिकतामा राखेर विभिन्न प्रतियोगिता गरिसकेको कलेजले यसअघि पुरुष भलिबल प्रतियोगिता गरेको थियो भने यसपाली छात्रा भलिबल प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगिता एसपिएम कलेजको खेलमैदान गैंडाकोट वडा नम्बर २ मा हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई १५ हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र, द्वितीय हुने टिमलाई १० हजार नगद, मेडल, शिल्ड, प्रमाणपत्र र तृतीय हुने टिमलाई ५ हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा ९० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।
एसपीएम कलेज स्ववियु सभापति श्यामकुमार बाचे मगरका अनुसार प्रतियोगितामा गैंडाकोट नगरपालिकाको सहयोग रहनेछ भने गण्डकी प्रदेश भलिबल संघले खेलकुद सामग्री सहयोग गरेको छ । प्रतियोगितामा करिब २० टिमको सहभागीता रहने आयोजकले अनुमान गरेको छ।
खेलको क्षेत्रमा एसपिएम कलेजले विभिन्न कार्यक्रम गर्दै आएको कलेजका शिक्षाशास्त्र संकाय प्रमुख माधव सिग्देलले बताउनुभयो। सिग्देलका अनुसार कलेजले शैक्षिक उन्नयन मात्र नभई समाजसँग सहकार्य गर्दै खेलकुदका गतिविधिहरु पनि सँगसँगै अगाडि बढाइरहेको छ ।
छात्राहरूको खेलकुद विकासमा महत्त्वपूर्ण भूमिका रहोस् भनेर छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको कलेजका स्ववियु सहसचिव तथा प्रतियोगिताको संयोजक खेमराज आचार्यको भनाई छ ।
महिलालाई खेलकुदमा अगाडि बढाउन सक्यो भने छात्राहरूको शारीरिक विकाससँगै खेलकुदप्रति आकर्षक बढाउन पनि यस्ता किसिमको प्रतियोगिताले सहयोग पुग्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा युवा रेडक्रस सर्कल एसपीएम कलेजका अध्यक्ष सुमन शर्मा, विद्यार्थी, खेलप्रेमी, समाजसवी व्यक्तीहरुको उपस्थिती रहेको थियो ।