हरिहर टोल विकास संस्थाको सातौँ साधारण सभा सम्पन्न, नयाँ नेतृत्वमा मीनप्रसाद सापकोटा चयन
गैंडाकोट । हरिहर टोल विकास संस्था गैंडाकोट-७ को सातौँ साधारण सभा तथा पाँचौँ नेतृत्व छनोट कार्यक्रम शनिबार हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम परिसरमा सम्पन्न भएको छ ।
सभामा संस्थाकी कोषाध्यक्ष सपना सापकोटा शर्माले आय-व्ययको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहसचिव देवीकला कंडेलले कार्यप्रगति तथा भावी योजनासहितको प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा हरिहर मन्दिरका सहसचिव भानु सापकोटा र पिसपार्क टोल विकास संस्थाकी अध्यक्ष नामकुमारी शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
घरधुरी तथा जनसंख्याको आधारमा टोल विकास संस्थालाई थप व्यवस्थित बनाउने उद्देश्यले हरिहर टोल विकास संस्थाको कार्यक्षेत्र विभाजन गरी सर्वसम्मत रूपमा लक्ष्मण ओझाको अध्यक्षतामा ११ सदस्यीय शीतलनगर टोल विकास संस्था गठन गरिएको छ ।
त्यसैगरी, मीनप्रसाद सापकोटाको अध्यक्षतामा ११ सदस्यीय हरिहर टोल विकास संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको निर्वाचन संयोजक तथा समाजसेवी नारायण पौडेलले जानकारी दिनुभयो । कार्यक्रम गैंडाकोट वडा नम्बर-७ का वडा अध्यक्ष होमनाथ सापकोटाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष होमप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।