सहमति नेपालमा नागरिक समाज तथा रिभर च्याम्पियनसँग छलफल तथा अन्तरक्रिया

२०८२ मङ्सिर २८ आइतबार १९:३८:०० मा प्रकाशित

गैंडाकोट । सहमति नेपालले नागरीक समाज तथा रिभर च्याम्पियन सँग छलफल तथा अन्तरक्रिया गरेको छ। आइतबार सहमति नेपालको सभाहलमा विभिन्न सरोकारवालासँग छलफल तथा अन्तरक्रिया भएको हो। अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले फोहोर व्यवस्थापन, अग्नि नियन्त्रण, नदीजन्य पदार्थको उत्खनन तथा वायु प्रदुषणको बारेमा आफनो धारणा राखेका थिए। 
अन्तरक्रिया कार्यक्रममा नारी जागरण केन्द्रकी महासचिब सरस्वती लामाले देवघाटको फोहोर व्यवस्थापन घोषणा मात्र नभई दीर्घकालीन होस् भन्ने आग्रह गर्नुभयो। उहाँले देवघाट क्षेत्रमा फोहोर राख्नको लागि बिनहरू थोरै भएकोले त्यसलाई थप्न आग्रह गर्नुभयो। त्यस्तै ब्लेडहरूको व्यवस्थापनको लागि बक्स सानो भएर नदेखिने हुँदा त्यसलाई ठूलो अथवा देखिने ठाउँमा राख्न आग्रह गर्नुभयो। त्यस्तै उहाँले सिसी क्यामेराको पनि आवश्यकता रहेको भन्दै दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्नु पर्ने धारणा राख्नुभयो। 


कार्यक्रममा लायन्स क्लब गैडाकोट मौलाकालिकाका उपाध्यक्ष शंकर आचार्यले अग्नि नियन्त्रणको नाममा धेरै ठाउँमा खर्च भइरहेको छ। जहाँ पब्लिकको सहभागिता हुँदैन त्यहाँ जतिसुकै अग्नि नियन्त्रणमा खर्च गरे पनि पब्लिकलाई माया हुँदैन तेसैले जब पब्लिक आफैले निभाएको आगो बल्यो भने बल्ल जाउँ जाउँ हुन्छ र पब्लिकलाई पनि माया हुने बताउनुभयो ।  उहाँले फोहोर व्यवस्थापनमा नियम कडाईका साथ लागु गर्न आवश्वक रहेको बताउनु भयो। उहाँले पानीको बोतल र सुर्तीजन्य प्लास्टिकको खोलले सबैभन्दा धेरै फोहोर बनाउने भएकोले सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बताउनुभयो। 


सहमति रिभर च्याम्पियन उषा महत्तोले जुन ठाउँको बारेमा रिपोर्ट प्रस्तुत गरिएको छ त्यहाँ रिभर च्याम्पियनको सहभागिता भयो भने अर्को ठाउँमा जानकारी गराउन सजिलो हुने बताउनुभयो। उहाँले रिभर च्याम्पियनलाई चलायमान गराउन आग्रह गर्दै काम गर्न पनि तयार रहेको भनाइ राख्नुभयो।


कार्यक्रममा समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरणका अध्यक्ष वसन्त रानाले सहमतिको आगलागी सम्बन्धी सचेतना मुलक होडिङ बोर्ड ठाउँ ठाउँमा देख्दा खुसी लागेको बताउनुभयो। उहाँले अनुपयोगी होडिङ बोर्डहरू हटाउनुपर्छ र जनचेतना मूलक होल्डिङ बोर्ड राख्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,“ देवघाटमा जाने बाटोमा होडिङ बोर्डभन्दा ठूला ढुंङगामा सचेतनामूलक सन्देश लेख्न सकिन्छ त्यो प्रभावकारी हुन्छ।  धेरै ठाँउमा फोहोरको रुपमा सबैभन्दा बढी पानीको बोतलहरू नै छन्। त्यसलाई तेत्तीकै राख्नुभन्दा थिचेर राख्दा धेरै ठाउँ नलिने बताउनुभयो। उहाँले फोहोर व्यवस्थापनको विषयमा सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो। 


सफा ऊर्जा उत्पादन प्राली खैरेनीका इन्चार्ज भुवन पाठकले सहमति संस्था लगायत यस क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले गाउँघरमा गएर नै फोहोर व्यवस्थापनको विषयमा अन्तरक्रिया गर्नुपर्ने बताउनुभयो। इन्चार्ज पाठकले जब स्रोतबाट फोहोरको वर्गीकरण गर्न हामी सफल हुँदैनौं त्यहाँ लगानी गरेको लगानी बालुवामा पानी जस्तै हो भन्नुभयो । उहाँले भन्नुभयो, देवघाट क्षेत्रमा समितिले नियमित अनुगमन र सरसफाई गर्न आवश्यक छ। त्यहाँ खटाउने व्यक्तिलाई दिने पारिश्रमिक त्यहीको फोहोरबाट आउछ । उहाँले भन्नुभयो,“सफा ऊर्जाले प्लास्टिकको बोतल, प्लास्टिक, लत्ता कपडाबाट आम्दानि गरिरहेको छ भने ती चिजहरु भनेको पैसा हो। त्यो चिजलाई अनुगमन गर्ने मान्छेलाई सही व्यवस्थापन गर्ने हो भने त्यो फोहोर ब्यबस्थापन गर्न संस्थालाई सजिलो हुने र एकजना मान्छेलाई रोजगारी पनि हुन्छ ।देवघाट क्षेत्रको फोहोर व्यवस्थापन गर्न समितिले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो। उहाँले फोहोर व्यवस्थापनलाई दिर्घकालिन बनाउन जुन घरबाट फोहोर निस्किन्छ त्यहाँ फोहोर वर्गीकरण कसरी गर्ने र किन गर्ने भनेर ज्ञान दिन आवश्यक रहेको बताउनुभयो। 

वातावरणका क्षेत्रमा काम गरिरहेको बेटर चितवनका इन्जिनियर सागर कार्कीका अनुसार नारायणी नदीमा सबैभन्दा धेरै प्लाष्टिक पाइएको छ । प्लाष्टिक ६० दशमलब ६८ प्रतिशत पाइएको छ । त्यसपछि जैविक फोहोर, सिसा, कपडा, धातुका टुक्रा, कागज, चिकित्सा फोहोर रहेका छन् ।
गैँडाकोटको नारायणी क्षेत्रमा प्लाष्टिकको मात्रा धेरै भएका कारण पनि समयमानै फोहोर व्यवस्थापनमा ध्यान दिन सके आगामी दिन थप सहज हुने अभियन्ता सागर कार्कीले बताउनुभयो ।

गैँडाकोट तर्फको नारायणी नदीमा जैविक फोहोर २४ दशमलब ८१ प्रतिशत, कागज २ दशमलब ८ प्रतिशत, धातुका टुक्रा ३ दशमलब २५ प्रतिशत, सिसाका टुक्रा ८ दशमलब ३९ प्रतिशत, स्वास्थ्य चिकित्सा सम्बन्धि फोहोर १ दशमलब १ प्रतिशत, कपडा बस्त्र ६ दशमलब ९५ प्रतिशत र अन्य फोहोर २ दशमलब ८२ प्रतिशत भेटिएको फोहरको अडिटमा उल्लेख छ ।

प्रकृतिमा आधारित समाधान (ट्रिपल बेनिफिट प्रोग्राम) परियोजनाका संयोजक खेमराज खनालले सहमतिले अहिले विशेष गरेर चारवटा कार्यक्षेत्रमा काम गरिरहेको बताउनुभयो। उहाँले जीविकोपार्जन प्रवर्धन, वातावरण संरक्षण, विपद जोखिम न्यूनीकरण, स्वास्थ्य तथा पोषण, अनुसन्धान र नवप्रवर्तन प्रवर्धनमा रहेर कार्यक्रम अगाडि बढाएको बताउनुभयो । उहाँले बन डडेलो नियन्त्रणका लागि केहि सामुदायिक वनमा वन हेरालुहरूको व्यवस्थापन संस्थाले गरेको बताउनुभयो।

नारायणी नदी किनारको फोहोरको नक्सांकन र फाहोरको अडिट (परीक्षण) ले फोहोरको समस्या समाधानका लागि केही सुझाब पनि प्रस्तुत गरेको छ । पूर्वाधार विकास अन्तर्गत जैविक फोहोरका लागि सामुदायिक कम्पोष्टिङ युनिट स्थापना गर्नुपर्ने, धार्मिक, पर्यटकीय क्षेत्रको नियमित फोहोर संकलन, पर्यटन क्षेत्रमा बोतलको फोहर घटाउने फेरी भर्न मिल्ने पानी स्टेसन जस्ता पूर्वाधारको निर्माण तथा अभ्यासको थालनी गर्ने ।
नीति तथा कार्यक्रम अन्तर्गत आवश्यकता अनुसार संकटउन्मुख क्षेत्रलाई प्लाष्टिक नियन्त्रण क्षेत्र घोषणा गर्ने, फोहोर फाल्नेलाई जरिवाना र कार्यान्वय पक्ष बलियो बनाउन आवश्यक रहेको अध्ययनले उल्लेख गरेको छ । 
ब्लेड, सुई जस्ता धारिलो वस्तुहरुको लागि अलग फोहोर संकलन डब्बाहरु राखने, लागु औषध प्रयोग हुने जोखिम भएका क्षेत्रमा नो ड्रग जोन क्षेत्र घोषणा गर्ने गर्नु आवश्यक रहेको बताइएको छ ।