नवदुर्गा आधारभूत विद्यालयलाई छात्रा शौचालय हस्तान्तरण

२०८२ मङ्सिर १६ मंगलबार १८:४९:०० मा प्रकाशित

गैंडाकोट। रोटरी क्लब अफ गैंडाकोटले गैँडाकोट–१ स्थित नवदुर्गा आधारभूत विद्यालयमा निर्माण गरिएको छात्रा शौचालय मंगलबार विद्यालयलाई हस्तान्तरण गरेको छ । महालक्ष्मी विकास बैंक लिमिटेडको सहकार्यमा निर्माण गरिएको शौचालय विद्यालयका शिक्षिका तथा विद्यार्थीलाई समर्पित गरिएको क्लबले जनाएको छ।


कार्यक्रमका अध्यक्षता तथा रोटरी क्लब अफ गैंडाकोटका अध्यक्ष हिरालाल अर्यालले क्लबले विगत वर्षदेखि छात्रवृत्ति, न्यानो कपडा वितरण लगायतका सामाजिक गतिविधि गर्दै आएको उल्लेख गर्दै यस वर्ष छात्रा शौचालय हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले संरचनाको सदुपयोग गर्न शिक्षक तथा विद्यार्थीलाई आग्रह गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो।


कार्यक्रमका प्रमुख अतिथि आर.आई डिस्ट्रीक्ट ३२९२ का डिस्ट्रीक्ट गर्भनर रोटेरियन विनोद कोइरालाले विद्यालय परिवारको सक्रियता र व्यवस्थापन समितिको तत्परताका कारण क्लबले सहयोग गर्न सकेको बताउनुभयो। उहाँले कतिपय विद्यालयले निर्माण भएका संरचनाको संरक्षणमा कमजोरी देखाए पनि नवदुर्गा विद्यालयले संरक्षणमा ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। शौचालय निर्माणमा रोटरी क्लब अफ गैंडाकोटको अग्रसरता तथा महालक्ष्मी विकास बैंकसहित समाजसेवीको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।


गैंडाकोट–१ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले विद्यालयमा शौचालय अत्यावश्यक रहेको समयमा रोटरी क्लब र महालक्ष्मी विकास बैंकले जिम्मेवारीपूर्वक सहयोग गरेको उल्लेख गर्दै धन्यवाद व्यक्त गर्नुभयो।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद सापकोटा, आरटी ३२९२ का डिस्ट्रीक्ट गर्भनर नोमिनी रोटेरियन प्रोफेसर डा. आइ.पी ढकाललगायतले शुभकामना मन्तव्य राख्नुभएकोे थियो। कार्यक्रममा नवदुर्गा आधारभूत विद्यालयका प्र.अ यामकुमारी शर्मा रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो।


कार्यक्रममा आर.सी गैंडाकोटका असिस्टेन्ट ए.जी तथा आर.टी डिस्ट्रीक्ट ३२९२ जोन ३५ का ए.जी रोटेरियन हरीकुमार श्रेष्ठ, जोन ३३ का ए.जी रोटेरियन डा. प्रमोद पौडेल, शौचालय निर्माण समिति संयोजक विष्णु पन्थी, पूर्व वि.व्य.स. अध्यक्ष शालिकराम सापकोटा तथा विद्यालयका शिक्षक र विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो।