पाकिस्तानी राजदूतद्धारा भरतपुर आँखा अस्पताललाई सहयोग
चितवन । नेपालका लागि पाकिस्तानी राजदूतावासले भरतपुर आँखा अस्पताललाई सहयोग हस्तान्तरण गरेको छ ।राजदूत अब्रार एच हासमीले आज एक कार्यक्रमकाबीच भरतपुर आँखा अस्पतालको कागजरहित प्रविधिको विकासका लागि रु १० लाख सहयोग हस्तान्तरण गर्नुभएको हो । सो रकम राजदूत हासमीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकम उपलब्ध गराएर नेपालसँग सम्बन्ध सुमधुर बनाउन पाएको बताउँदै नेपालको आँखा उपचार क्षेत्रमा दिँदै आएको साथ र सहयोगलाई निरन्तरता दिन चाहेको पाकिस्तानका राजदूत हासमीले बताउनुभयो ।
नेपाल नेत्रज्योति संघ चितवनका सभापति जयराम श्रेष्ठले विदेशी दातृ निकायहरुको साथ र सहयोगले अस्तपालबाट गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको बताउनुभयो । पाकिस्तानी सरकारको सहयोगबाट हालसम्म करिब ३० लाख मूल्यबराबरको फेको मेसिन, ४० लाख रुपैयाँ बराबरको फार्मेसी तथा अप्टिकल डिस्पेन्सर भवन निर्माण गरिएको छ । साथै करिब दुई करोड रूपैयाँ रकम खर्चेर पिडियाट्रिक अस्पताल भवनको अत्याधुनिक मोडुलर ओटी निर्माण गर्न सफल भएको श्रेष्ठले बताउनुभयो ।