विदेश जाने श्रमिकका लागि ३४ प्रकारका स्वास्थ्य परीक्षण अनिवार्य

२०८२ मङ्सिर ११ बिहीबार १६:१६:०० मा प्रकाशित

काठमाडौँ ।  वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकका लागि मंगलबारदेखि ३४ प्रकारका अनिवार्य स्वास्थ्य परीक्षण लागू गरिएको छ। नयाँ परीक्षण प्याकेजको शुल्क ९,५०० रुपैयाँ तोकिएको छ र १७१ स्वास्थ्य संस्था सूचीकरणमा परेका छन्।

विशेषज्ञ टोलीले श्रमिकको हितका लागि पेसागत जोखिमका आधारमा परीक्षण छुट्याउने निर्णय गरेको छ। यसले श्रमिकलाई रोग लाग्नुअघि नै स्क्रिनिङ गरेर जोखिम पहिचान गर्न, विदेश जानुअघि उपचारको अवसर दिन तथा अकाल मृत्यु दर घटाउन सहयोग गर्ने अपेक्षा  गरिएको छ। टोलीले यसलाई श्रमिक र समाज दुवैका लागि लाभदायी निर्णय भन्दै स्वागतयोग्य कदमका रूपमा वर्णन गरेको छ।

थप गरिएको परीक्षणमा रक्त, क्षयरोग, मृगौला, हेपाटाइटिस, सुगर, मलेरिया, टाइफाइडलगायत सामेल छन्। उमेर र पेसाअनुसार पेसागत रोग पहिचान गर्न आवश्यक परीक्षण पनि अनिवार्य गरिएको छ।

विशेषज्ञहरूका अनुसार परीक्षणको प्रक्रिया डिजिटलाइजेशन गरे गलत मेडिकल रिपोर्ट र अनियमितता रोक्न मद्दत पुग्नेछ। सरकारले परीक्षण प्रभावकारी बनेमा विदेशमा हुने श्रमिक मृत्यु दरमा उल्लेख्य कमी आउने विश्वास व्यक्त गरेको छ।