चनौली बजारमा दोहोरो पार्किङ निषेध

२०८२ मङ्सिर ११ बिहीबार १३:२४:०० मा प्रकाशित

चनौली । बजारमा बढ्दै गएको सवारी चाप व्यवस्थापनका लागि चनौली बजार व्यवस्थापन समितिले दोहोरो पार्किङ निषेध गरेको छ । बजार क्षेत्रमा साँघुरो सडक र बढ्दै गएको सवारी चापका कारण आवतजावतमा समस्या देखिन थालेपछि व्यवस्थापनका लागि नयाँ नियम लागू गरिएको हो ।

साँघुरा ठाउहरुमा समेत पार्किङ गरेर दुर्घटनाको जोखिम भएकोले चनौली बजारको डेरी चोकदेखि नापी कार्यालयसम्म हप्ता–हप्तामा एकतर्फी पार्किङको सुरूवात गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ ढकालले बताउनभयो।

बजारमा बढ्दो सवारीसाधनको चापले नागरिकले सास्ती खेप्नुपर्ने भएका कारण बजार समितिले पहिलो प्राथमिकता ट्राफिक व्यवस्थापनको एजेन्डा बनाएको उहाँ बताउनुहुन्छ।

‘बजारको सडक साँघुरो छ, गाडीहरु बढिरहेका छन्, त्यसमाथि सडकको दुवैतर्फ पार्किङ गरिदिनाले आवतजावतमा समस्या हुन थालेपछि नयाँ नियम लागू गरेका छौँ’, अध्यक्ष ढकालले भन्रुभयो, ‘यो नियमले सवारी आवतजावत केही हदसम्म सहज हुन्छ भन्ने लागेको छ ।’

बजार व्यवस्थापन समितिले इलाका प्रहरी कार्यालय चनौली र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर सवारी व्यवस्थापनको प्रयास थालेको छ । पार्किङ, अटो स्ट्यान्ड, यात्रु चढाउने–ओराल्ने र सामान लोड–अनलोडसम्बन्धी नयाँ नियम लागू गरेको छ । अटोसहितका तीनपाङ्ग्रे सवारीसाधनले बजारका जुनसुकै क्षेत्रमा रहेर लामो समयसम्म यात्रु कुर्न पाउने छैन ।

पार्किङको व्यवस्था बजारको भित्री भागमा रहने छ । साना चारपाङ्ग्रे सवारीसाधनले बजारमा यात्रु चढाउन र ओराल्न मात्र पाउने छन् । सामान लोड तथा अनलोडको पनि समय निर्धारण गरिएको छ । नयाँ नियम भएकाले सुरूवाती चरणमा सवारी धनीहरुलाई सम्झाउने र त्यसपछि मात्र जरिवानाको प्रक्रियामा जाने अध्यक्ष ढकालले जानकारी दिनुभयो।

उहाँका अनुसार अब बजार परिसरमा पार्किङ क्षेत्र तोकेर लाइन कोरिने र बोर्डहरु राखिने छ । त्यसपछि पनि अटेर गरेर नियम उल्लङ्घन गर्नेलाई जरिवाना तिराउने तयारी गरिएको छ । त्यस्तै, चनौली बजारको केन्द्रमा अवस्थित चौतारोमा झन्डा वा तुल टाँगेर कुनै पनि राजनीतिक दललाई राजनीतिक सभा गर्न सर्वदलीय बैठक बसी निषेध गरिएको छ ।