मौलाकाली केवलकार आजदेखि पुनः संचालनमा आयो

२०८२ मङ्सिर ६ शनिबार १३:१७:०० मा प्रकाशित

नवलपुर । नवलपुरको गैंडाकोटमा अवस्थित मौलाकाली केवलकार आज शनिबारदेखि पुनः संचालनमा आएको छ । गत भाद्र २५ गतेदेखि बन्द रहेको केवलकारको सेवा २ महिनाभन्दा लामो समयपछि पुनः सुचारु गरिएको हो ।


भाद्र २४ गते जेनजीको प्रदर्शनको क्रममा तोडफोड र आगजनीका कारण केवलकारको बटम स्टेशनमा रहेका कार्यालय भवन फर्निचर लगायत प्राविधिक उपकरणहरु क्षतिग्रस्त भएपछि केवलकारको सेवा बन्द थियो । केवलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरबाट सामान सहितका प्राविधिकहरु आई केवलकार पुननिर्माण गरेका हुन् । पुननिर्माण पछि पनि डोपलमायरका दक्ष प्राविधिक इन्जिनियरको टीमले लामो समय चेकजाँच गरेपछि केवलकार संचालनमा ल्याईएको स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिए । “केवलकार संचालनमा आएर करीब एक हप्तासम्म विभिन्न सुक्ष्म परीक्षणहरु गरी सम्पूर्ण रुपमा ठीक भएको पाइएपछि बल्ल हामीले आम सर्वसाधारणका लागि खुल्ला गरेका हौं”–पौडेलले भने, “सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो, त्यसैले केवलकार चल्न थालेको एक हप्तासम्म धेरै सुरक्षा जाँचहरु गरेर बल्ल संचालनमा ल्याएका छौं” ।


स्टेशन म्यानेजर पौडेलका अनुसार अब केवलकार पूर्ववत तालिका अनुसार बिहान ६ बजेदेखि राती १० बजेसम्म संचालन हुनेछ । केवलकारको सेवा अवरुद्ध हुँदा माथिल्लो स्टेशनमा रहेको इला रिसोर्टको सेवा पनि प्रभावित हुन पुगेको थियो । होटलको सेवा यथावत नै भए पनि केवलकार नै नचलेपछि सेवाग्राही ग्राहकहरु नै कम आउने गरेका थिए । अब केवलकार संचालनमा आएपछि होटलका सेवाग्राहीहरुलाई अझै उत्कृष्ट सेवा दिन सकिने इला रिसोर्ट तथा मौलाकाली केवलकारका महाप्रबन्धक अरबिन्द्र केसीले बताए । “यो अवधिमा पनि होटल त खुल्ला नै थियो तर पनि केवलकार नै नभएपछि सेवाग्राहीहरू निकै नै कम आउनुहुन्थ्यो” केसीले भने । अब भने केवलकार पुनः संचालनमा आएसंगै होटलमा पनि धेरै सेवाग्राही आउने र आफूहरुले अझै गुणस्तरीय सेवा प्रदान गर्ने केसीको भनाई छ ।

 

केवलकारको सेवा अवरुद्ध हुँदा मौलाकालिका मन्दिरमा आउने भक्तजनको संख्यामा समेत उल्लेख्य गिरावट आएको पाइएको छ । केवलकार संचालनमा आएपछि मन्दिरमा आउने भक्तजनको संख्यामा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएकोमा पछिल्लो समय केवलकार नचल्दा मन्दिरमा भक्तजनको चहलपहल नै निकै कम देखिएको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए । “मन्दिरमा धेरै भक्तजनहरु आउने दशैं तिहारको बेलामा पनि यसपालि भक्तजन धेरै आएनन् । अघिल्ला वर्षहरुको तुलनामा मन्दिरमा भेटी पनि निकै कम चढ्यो”–सापकोटाले भने ।

 

२०८० साल वैशाखदेखि संचालनमा आएको मौलाकाली केवलकारबाट करीब ६ लाख सेवाग्राहीले सेवा लिईसकेका केवलकारको तथ्यांक छ । केवलकार संचालनमा आएपछि यस क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्नुका साथै आर्थिक रुपमा समेत यसले मौलाकालिका मन्दिर, सामाजिक संघसंस्था तथा विभिन्न सरकारी निकायमा उल्लेख्य योगदान गरेको छ ।