लक्ष्मी माविका प्रधानाध्यापक मणिकण्ठ कंडेलको ३८ वर्षको सेवा पश्चात विदाई
गैँडाकोट । गैँडाकोट १५ मा अवस्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक मणिकण्ठ कंडेल ३८ बर्ष १० महिना २९ दिनको शिक्षण सेवा पश्चात आइतबारबाट अनिवार्य अवकाश हुनुभएको छ । गैँडाकोटमा नेतृत्व क्षमता भएको कुशल प्रधानाध्यापकको रुपमा परिचित कंडेललाई आइतबार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरि ताम्रपत्रद्वारा अभिनन्दन गरी बाजागाजासहित विदाइ गरिएको विद्यालयका मा.वि तह कक्षा ९-१२ संयोजक कमलादेवी ढकालले जानकारी दिनुभयो ।

विदाई कार्यक्रममा वडा नं १५ का वडा अध्यक्ष प्रेमराज तिमिल्सेना, वडा नं १४ का वडा अध्यक्ष कोकिसरा राना, वडा नं १६ का वडा अध्यक्ष विनोद कुमार मल्ल, वडा नं १७ का वडा अध्यक्ष गोपी कंडेलले अमरापुरी क्षेत्रमा शिक्षाको विकासमा मणिकण्ठ कंडेलले पुर्याउनुभएको योगदानको बारेमा स्मरण गर्दै निवृत्त जीवन सुस्वास्थ्य, सुखमय र आनन्दमय होस् भनी शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं पूर्व वडा अध्यक्ष रामकुमार श्रेष्ठ, सूचना अधिकारी सुरेन्द्रराज भट्टराई, माध्यमिक तह कक्षा ९-१२ संयोजक कमलादेवी ढकाल, विद्यार्थीको तर्फबाट पविमाया रानामगरले विद्यालयको विकास एवं शैक्षिक गुणस्तर सुधारमा उहाँले पुर्याउनुभएको योगदानका बारेमा स्मरण गर्दै निवृत्त जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक तिलकबहादुर बटालाले स्वागत मन्तव्य राख्नुभएको सो विदाइ कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजापती कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
