अस्ट्रेलियामा कार दुर्घटनाः चितवनका एकै परिवारका तीन जनाको मृत्यु

२०८२ कार्तिक २८ शुक्रबार १३:३६:०० मा प्रकाशित

चितवन । अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनलीमा भएको सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीको ज्यान गएको छ । दुर्घटनामा भरतपुर महानगरपालिका वडा नं-१२, जागृतिचोकका ४१ वर्षीय कृष्ण भण्डारी, उनकी श्रीमती ३१ वर्षीया सपना न्यौपाने र ३ वर्षका छोरा रूविन भण्डारीको मृत्यु भएको एनआरएन भिक्टोरियाले जनाएको छ ।

 

एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकका अनुसार उनीहरु चढेको कार सबवेबाट मेनरोडमा निस्कने क्रममा ट्रकले ठक्कर दिएको हो । उनीहरुका परिवार दुईवटा कार लिएर घुम्न निस्केका थिए, जसमध्ये अगाडिको कारलाई ट्रकले ठक्कर दिएको बताइएको छ ।

 

अर्को कारमा कृष्णका आफन्तसहित आमाबुबा र ६ वर्षकी छोरी चढेका थिए । कृष्णका एक छोरा र एक छोरी थिए । घटनापश्चात् तत्कालै उनीहरुलाई हेलिकप्टरबाट उपचारका लागि अस्पताल लगिएको थियो । कारमा चार जना सवार थिए । कारमा सपनाकी आमा गीता न्यौपाने पनि थिइन् । उनी हाल उपचाररत अवस्थामा छिन् ।