कावासोती हाटबजारमा विषादीयुक्त १५१ केजी काउली नष्ट

२०८२ कार्तिक २४ सोमबार १७:४१:०० मा प्रकाशित

नवलपुर । नवलपुरको कावासोती हाटबजारमा बिक्रीका लागि राखिएको काउलीमा अत्याधिक मात्रामा विषादी देखिएपछि जफत गरि नष्ट गरिएको छ । सोमबार कावासोती हाटबजारमा विभिन्न चार स्थानबाट भित्रिएका काउलीको परीक्षणका क्रममा अध्याधिक रुपमा बिषादी भेटिएपछि रजहरबाट कृषक मियाले उत्पादन गरेको करिब एक सय ५१ केजी काउली जफत गरि नष्ट गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नवलपुरका नायब प्राविधिक सहायक बिरेन्द्र भण्डारीले जानकारी दिनुभएको छ ।

 

उक्त काउलीको विषादी परीक्षण गर्दा अर्गानोफस्फेट विषादी ९८ दशमलब ८५ प्रतिशत भेटिएको थियो । कावासोती हाटबजारमा रहेको प्रयोगशालमा दैनिक रुपमा हाटबजारमा भित्रिने तरकारीजन्य बस्तुको विषादी परीक्षण गर्ने गरिएको छ । अर्गानोफस्फेट ३५ प्रतिशतभन्दा कम भएमा उपभोगका लागि योग्य मानिन्छ । तर परीक्षणका क्रममा अत्याधिक विषादी फेलापरेपछि जफत गरि नष्ट गरिएको नायव प्राविधिक सहायक भण्डारीले बताउनुभयो । तरकारी उत्पादन गर्ने किसानले आफ्नो उत्पादन बजार पठाउनुपूर्व प्रयोगशालामा ल्याएर विषादी परीक्षण गर्न उहाँले अनुरोध गर्नुभएको छ । विषादी धेरै भएको तरकारी प्रयोगले मानिसको स्वास्थ्यमा गम्भिर असर गर्ने हुँदा यसमा सबै सचेत बन्न भण्डारीले आग्रह गर्नुभएको छ ।