महानगरका वडा कार्यालयसहित १० भवनमा लगाइयो ‘रातो स्टिकर’

२०८२ कार्तिक २३ आइतबार १४:०८:०० मा प्रकाशित

भरतपुर । जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा परेका भरतपुर महानगरको मातहतमा रहेका ६ वटा वडा कार्यालयसहित १० वटा भवनमा ‘रातो स्टिकर’ लगाइएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका भरतपुर महानगरको प्रशासनिक भवनसहित ४ वटा र ६ वटा वडा कार्यालयमा रातो स्टिकर लगाइएको छ ।

भरतपुर महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार महानगरको प्रशासनिक भवन, शिक्षा, राजस्व र योजना शाखा रहेको भवन आगजनीका कारण रातो स्टिकर लगाइएको छ । यस्तै, वडा कार्यालयहरु ३, ६, १५, १७, १९ र ७ नं वडाको अगाडिको भवनमा रातो स्टिकर लगाइएको छ ।

रातो स्टिकर लगाइएको भवन तत्काल बस्न अयोग्य ठहरिन्छ । जसका कारण रातो स्टिकर लगाएका भवनबाट वडा कार्यालयहरुले काम गरेका छैनन् । भरतपुर महानगरका रातो स्टिकर लगाइएका शिक्षा र राजस्वको भवनबाट काम गरिएको छैन ।

रातो स्टिकर लगाइएको वडा नं–३ ले नजिकको स्वास्थ्य कार्यालयको इकाइबाट काम गरिरहेको छ । यस्तै, वडा नं–६ ले अरूणोदय माविको भवनमा बसेर सेवा दिएको छ । वडा नं–१५ ले भाडाको घरबाट सेवा दिएको छ । ७ नं वडाको पुरानो भवनमा रातो स्टिकर लगाइएको हो, यसको नयाँ भवन पनि थियो, सोही नयाँ भवनबाट सेवा दिइएको छ ।

यस्तै, वडा नं–१७ र १९ ले पनि अरुकै भवनबाट सेवा प्रदान गरेका छन् । ३ नं वडाका वडाध्यक्ष विकास थापाले स्वास्थ्यको भवनबाट बडो दुःखपूर्ण तरिकाले जनताको सेवा गरिरहेको बताए । उनले भने, ‘गत भदौ २४ गते ३ नं वडा कार्यालय दुईपटकसम्म आगजनीमा परेको थियो । बस्न अयोग्य भनिएको भवनबाट सेवा दिन सकिएको छैन, स्वास्थ्यको भवनबाट सेवा दिएका छौँ ।’

यस्तै, वडा नं–६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठले अरूणोदय माविको स्रोत केन्द्रको कोठाबाट सेवा दिएको बताए । उनले भने, ‘धेरै गाह्रो भएको छ, साँघुरो छ । विद्यालयबाट सेवा दिइरहेका छौँ, वडाको पुरानो भवनमा रातो स्टिकर छ ।’

यस्तै, भरतपुर महानगरका वडाहरु ४, १०, १३, २१, २३ र २४ मा पहेँलो स्टिकर लगाएको छ । यी वडाहरुमा मर्मत कार्य चलिरहेको छ । पहेँलो स्टिकर लगाइएको भवनमा सामान्य मर्मत गरेर बस्न सकिने इन्जिनियरहरुको भनाइ छ । महानगरका पहेँलो स्टिकर लगाएका सबै वडाले सोही भवनबाट सेवा दिइरहेका छन् ।

यस्तै १४, १६, १८, २० नं वडामा हरियो स्टिकर लगाइएको छ । पहँेलो स्टिकरको तुलनामा हरियो स्टिकर कम क्षति भएको भवन हो । हरियो स्टिकर लगाइएको वडा कार्यालयहरुले आफ्नै भवनबाट सेवा दिएका छन् । वडा नं–१४ ले भवन मर्मत गर्दै नजिकको स्वास्थ्यको भवनबाट सेवा दिइरहेको वडाध्यक्ष राजेन्द्र साँखीले जानकारी दिए । आगजनी र तोडफोडमा परेका कति वडाले भवनबाहिर बसेर नै सेवा प्रदान गरेका छन् भने कतिले आगजनी भएकै भवनबाट सेवा दिइरहेका छन् । जेनजी आन्दोलनको क्रममा भरतपुर महानगरपालिकाका वडा नं–२९, २६, २७, २५, २८ मा आगजनी र तोडफोड भएका छैनन् ।