नवलपुरका पर्यटकीय क्षेत्रमा चहलपहल  

२०८२ कार्तिक १९ बुधबार १३:०२:०० मा प्रकाशित

नवलपुर । नवलपुरका पर्यटकीय क्षेत्रहरूमा चहलपहल देखिएको छ । यस अघि सुनसान जस्तै बन्ने गरेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बढेको छ । स्थानीय स्तरका स्थानहरूको घुमफिर गर्ने संस्कृतिको विकास हुँदै गएकाले पनि पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल देखिएको नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा चाडपर्व सकिएपनि चहलपहल कायमै रहेको छ ।
नवलपुरमा रहेका धार्मिकसँगै अन्य मनोरम स्थलमा पर्यटकको चाँप बढेको छ । नवलपुरमा रहेका पर्यटकीय क्षेत्रहरू देवचुलीडाँडा, त्रिवेणीधाम, मौलाकालीका, दाउन्ने, शाश्वतधाम , अकलादेवी , गंगेश्वरधाम , अमलटारी, कुमसोत , धौवादी ,पोखरी ताल, नारायणी तटीय क्षेत्र लगायतका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

जिल्लाको नारायणी तटीय क्षेत्र सहित मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी, वन्यजन्तु अवलोकनका लागि पर्यटकको आगमन बढ्न थालेको पर्यटन व्यवसायी नरबहादुर महतोले बताउनुभयो । यहाँ रहेका चारवटा सामुदायिक वनमा एकीकृत रुपमा वन्यजन्तु अवलोकनका लागि प्रबन्ध गरिएको छ । गैँडा अवलोकनका लागि अमलटारी क्षेत्र परिचित रहेको छ । ‘चाडपर्वसँगै विस्तारै चहलपहल सुरु भएको थियो, अहिले पनि आन्तरिक पर्यटकहरूको आगम धेरै छ, अमलटारी क्षेत्रमा मुख्य गरि जिप सफारी मार्फत गैँडा अवलोकनका लागि आउनेहरू बढ्ने क्रममा छ’ महतोले भन्नुभयो ।


वन्यजन्तुसँग आधारित पर्यटकीय क्षेत्र सहित नवलपुरका धार्मिक पर्यटकीय क्षेत्रमा समेत पर्यटकको उपस्थिति बढेको छ । जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मौलाकाली, त्रिवेणीधाम, दाउन्ने , शाश्वत धाम, अकला देवी, गलेश्वरधाममा पर्यटकको बाक्लो उपस्थिति देख्न सकिन्छ ।
धार्मिक पर्यटकीय क्षेत्र बाहेक प्राकृतिक स्थानहरू पोखरी ताल, कुमसोत ,बालुवाडाँडा, झरना खोला, धौवादी , नारायणी तटीय क्षेत्रमा समेत आन्तिरक पर्यटकको सङ्ख्या बढ्न थालेको नवलपुर पर्यटन समितिका अध्यक्ष महतोले बताउनुभयो ।

जिल्लाका पर्यटकीय क्षेत्रमा लगभग सबै जसो आन्तरिक पर्यटककै उपस्थिति हुने गरेको छ । घुम्ने संस्कृतिको विकास हुँदा आन्तरिक पर्यटनको प्रर्वद्धनमा सहयोग पुग्न थालेको अध्यक्ष महतोले बताउनुभयो । पछिल्ला केही वर्षबाट मुख्य चाड सुरु भएपछि हुने बिदाको अवसरमा घुम्ने संस्कृति विकास हुँदै जान थालेको छ । यसले पर्यटन क्षेत्रका व्यवसायी समेत उत्साहित बनेका छन् ।

चाडपर्व सकिएपनि घुमफिरका लागि अहिलेको समय उपयुक्त भएकाले समेत जिल्लामा पर्यटकीय गतिविधि बढेको समितिका अध्यक्ष महतोले बताउनुभयो । ‘मुख्य गरि चाडपर्वमा यसै मानिस घुम्न निस्किने गर्दछ, सँगै अहिले चाडपर्व सकिएपनि घुमफिरका लागि मौसम अनकुल छ ,त्यसैले जिल्लाका पर्यटकीय स्थलमा समेत आन्तरिक पर्यटकको उपस्थिति बढेको छ’ अध्यक्ष महतोले भन्नुभयो ।

जिल्लामा पर्यटकीय क्षेत्रहरू धेरै रहेपनि अझै ति क्षेत्रमा पूर्वाधार विकास गर्दै प्रचारप्रसार र प्रर्वद्धन गर्दै जाने हो भने बाह्य पर्यटक समेत भित्राउन सकिने उहाँले बताउनुभयो । नवलपुरमा यहाँका थारू ,मगर ,गुरुङ , बोटे समुदायका संस्कृति र रहनसहन समेत पर्यटकलाई आकर्षित गर्ने माध्यम भएको बताउँदै यसलाई समेत प्रर्वद्धन गर्दै लैजानसके पर्यटनका लागि जिल्ला थप परिचित बन्ने अध्यक्ष महतोले बताउनुभयो ।