चित्रकलाप्रति बढ्दो मोह  

२०७८ असोज १२ मंगलबार ११:३३:०० मा प्रकाशित

  
गैँडाकोट । कला भावना, संस्कृति अनि मनसँग नजिक हुन्छ । पछिल्लो समय चित्रकला प्रति आकर्षण बढ्दै गएको छ । घर तथा कार्यालयहरुमा चित्रकारद्वारा सिर्जित चित्रकला खरिद गरि राख्ने गरिएको छ । उपहारका रुपमा के दिउँ त भन्दा चित्रकला र चित्रहरु आउने गरेका छन् । यसले चित्रकलालाई व्यवस्थित र व्यावसायिक बनाउन पनि सघाएको छ । 
नारायणगढका अभिषेक तिमिल्सिना गैंडाकोट ४ मा रहेको किसान आर्ट ग्यालरीमा राखिएका चित्रहरु मन्त्रमुग्ध भएर हेर्दै थिए । कोरोनाका कारण धेरै व्यक्ति लामो समय बन्द कोठामा रहनुपर्ने बाध्यता आयो । यस्ता कठिनाईमा पनि प्रकृति झल्कने चित्र कोठामा सजाउन रुचि राख्ने गरेको तिमिल्सिना बताउँछन् । उनी भन्छन् “अहिले कोभिडका कारणले कोठाबाट मान्छे बाहिर निस्कन पाएनन अत्यासमा यि चित्रहरु हेरेर बुझेर केहि सिक्न पाउने हुँदा पनि यसले सहज बनायो ।” उनले थपे “म त चित्रहरु हेरेर मन शान्त बनाउँछु, रमाइलो लाग्छ र किन्छु ।” 
चित्रकलाप्रतिको मोह बढ्नुका साथै पछिल्लो समय चित्रकलालाई माया गर्नेहरुको जमात पनि बढेको छ । यसले चित्रकलालाई व्यावसायिक बनाउन मद्दत मिलेको छ । गैंडाकोट ८ का करुणासागर सुबेदीले थकान मेटाउन र उर्जावान महसुस गर्न चित्रहरु किनेर घर लैजाने गरेको उनले बताए । १० भन्दा बढि चित्र खरिद गरेका उनि भन्छन “चित्रप्रति मेरो छुट्टै आकर्षण छ । गौतम बुद्ध, हरियालीमा चित्रहरु हेरेर थकान मेटाउँछु र शान्ति महसुस गर्छु अनि उर्जावान महसुस गर्न बाघको चित्र हेर्छु ।”
चित्रकलाले समाज, धर्म, संस्कृतिलाई संरक्षण गर्न सघाउ पु¥याउँछ । चित्रकलाका पारखी रामप्रसाद सुबेदीले पनि चित्रहरु किनेर घरमा सजाउने गरेको बताउँछन् । उनी भन्छन “घर सजावटका लागि मेरो आर्थिक अवस्थाले पुगेसम्मका चित्रहरु लगेर घरमा राख्ने गर्छु ।”
कलाकारले मेहनेत गरेर बनाएका चित्रले समाजको यर्थाथतासँगै सन्देश दिने मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाको भनाई छ । उनी भन्छन् “कलाको सम्मान गर्नुपर्छ । त्यसैले हामीले मौलाकालिका मन्दिरको फेदिमा मूर्तिकला बनायौ, मेरो घरमा पनि भगवान र प्रकृतिका चित्रकला छन् ।”
कलाले सकारात्मक मनोभावना बृद्धि गर्ने गैँडाकोट ५ की शान्ति न्यौपानेको बुझाई छ । मनमा शान्ति छाउने हुनाले पनि उनले चित्रकारले बनाएका चित्र र मूर्तिहरु किन्ने गरेको बताईन् । उनी भन्छिन् “कलाले मनलाई सकारात्मक बनाउँछ, यहि ठुलो कुरा हो ।”