पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर एक जनाको मृत्यु

२०८२ कार्तिक ९ आइतबार १२:१२:०० मा प्रकाशित

मनाङ ।  मनाङ नार्पाभूमि गाउँपालिका-४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको कोलोसोथर गाउँपालिका–४ का ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ ।

 

लेक लागेर बिरामी भएका गुरुङको हेलिकप्टरबाट उद्दार गरी उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो ।


उहाँले मृतकका भाई केशबहादुर गुरुङले घटनास्थलमा नै लेक लागेर मृत्यु भएको खबर गरे पनि अस्पताल पठाउँदा चिकित्सकले पनि मृत्यु भइसकेको जानकारी गराएको बताउनुभयो ।

 

यस्तै, नार्पाभूमि-४ याकखर्कमा पर्यटकको भारी बोकी फर्कने क्रममा नुवाकोट किस्पाङ गाउँपालिका-११ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार लेक लागेर घटनास्थलमा नै मृत्यु भएको थियो । रासस