चार जना मान्छे खाएको नरभक्षी बाघ नियन्त्रणमा

२०८२ असोज ३ शुक्रबार १३:४४:०० मा प्रकाशित

काठमाडौँ । बाराको जंगलमा चारजना मान्छे खाएको र एकजनालाई घाइते बनाएको बाघलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट खटिएका विज्ञ टिमको सहयोगमा सेना र प्रहरीले बाघ नियन्त्रणमा लिएका हुन् ।

सुरक्षाकर्मी र प्राविधिकहरूले ६ वटा हात्तीको सहयोगमा नियन्त्रणमा लिएको नरभक्षी बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा राखिएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ र २२ मा ३ महिनाको बिचमा बाघले ४ जना मानिसलाई मारेको थियो । एकजना सैनिक हवलदारलाई घाइते बनाएको थियो ।

 

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूले चुरियामाई सामुदायिक वनको ३ ठाउँमा राँगालाई बाँधेर क्यामरा जडान गरेका थिए । क्यामराले राँगोलाई आक्रमण गरेको फोटो कैद गरेपछि डार्ट गरेर बाघ नियन्त्रणमा लिइएको हो । जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई सामुदायिक वनको आधाभारबाट बाघलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी अमलेखगञ्जका वरिष्ठ सई धनबहादुर श्रेष्ठले बताउनुभयो ।